© 2026
सन्धिखर्क, १८ बैशाख ।
बैशाख– अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं ४ नुगालीटोल बस्ने २२ बर्षिया प्रिति बिकलाई छिमेकीले निर्घात कुटपिट गरेका छन् । बुधबार बिहान धारामा पानी लिन गएको बेला सोही ठाउँका स्थानीय डिलाराम रिजालले बिकलाई निर्घात कुटपिट गरेका हुन् ।
रिजालको कुटाईबाट घाइते भएकी बिकको जिल्ला अस्पतालमा सन्धिखर्कमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक अनुसार बिकको शरिरमा थुप्रै निलडाम हुनुका साथै हात, खुट्टा र ढाडमा देखिने खालका थुप्रै चोट रहेका छन् । रिजालले आफ्नो पँधेरामा पानी भर्न आएको भन्दै बिकलाई गाली गलौज गर्दै कुटपिट समेत गरेका हुन् । ‘मेरो जग्गामा भएको पँधेरामा तिमीहरूले पानी भर्न पाउँदैनौँ । अबदेखि यो मन्दिरदेखि तल झरेर पानी लिन आउने होइन,’ भन्दै बिकमाथि जाइलागेको स्थानीयले बताएका छन् ।
रिजालले बिकलाई लठ्ठी र मुक्का प्रहार गरी निर्घात कुटपीट गरेका थिए । रिजाललाई प्रहरीले पीडितको उजुरीका आधारमा तत्काल पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।
प्रहरीका अनुसार ‘पीडकलाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको छ ।’ पीडितको जाहेरीका अधारमा हातपात, गाली बेइजत्ती तथा अभद्र ब्यवहार सम्वन्धि मुद्धमा पीडकलाई कारवाही हुन सक्ने डिएसपी मल्लले बताए ।