© २०२३
काठमाडौं ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकको अधिकार सुनिश्चित गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । उनले आगामी नीति तथा कार्यक्रम र बजेटले रोजगारी वृद्धि गर्ने दिशामा स्पष्ट मार्ग रेखा प्रस्तुत गर्नुपर्ने सुझाव दिएका हुन ।
ललितपुरमा नेपाल ट्रेड युनियन कांग्रेसले १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले युवाहरूलाई देशमै रोक्न र उनीहरूको ज्ञान, सीप तथा लगानीलाई उपयोग गर्दै समृद्ध नेपाल निर्माण गर्नुपर्ने विचार व्यक्त गरे।
उनले भने, “नेपालको संविधानले श्रमिकको अधिकार, उचित पारिश्रमिक र योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ।” देउवाका अनुसार श्रम ऐन, ट्रेड युनियन ऐनजस्ता श्रमिकहितका कानुनहरू नेपाली कांग्रेस नेतृत्वको सरकारका पालामा ल्याइएका थिए।
सभापति देउवाले लोकतन्त्रमा श्रमिकहरूको अधिकार सुरक्षित हुनुपर्छ भन्दै सबै स्थानीय तहमा श्रम डेस्क स्थापना गरी श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सरकार गम्भीर हुनुपर्ने आवश्यकता औल्याए ।
उनले नेपाली कांग्रेस सधैं श्रमिक अधिकारको पक्षमा अग्रसर रहेको दाबी गर्दै सामाजिक सुरक्षाले श्रमिकको सम्मान र भविष्यको सुनिश्चितता गर्ने विश्वास व्यक्त गरे।