Butwal Today

मालपोतमा जनशक्ति अभावले सेवा प्रभावित

१८ बैशाख २०८२, बिहीबार
अ+
अ-

जितपुर, १८ बैशाख ।
मालपोत तथा नापी कार्यालय बाणगङ्गा नगरपालिका – ८, बोडगाउँमा स्थापना भएको तीन महिना पुग्न लाग्दा पनि गतिलो सेवा दिन सकेको छैन । गत फागुन ४ गते भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले उद्घाटन गरेको उक्त कार्यालयले अझै पनि आवश्यक पूर्वाधार र जनशक्ति अभाव छ । दैनिक सेवाग्राहीको संख्या बढ्दै गएपनि काम समयमै नहुँदा सेवाग्राही निराश हुँदै फर्किन बाध्य छन् । कार्यालयमा स्वीकृत दरबन्दीअनुसार १४ कर्मचारी आवश्यक भए पनि हाल केवल ५ जना कर्मचारी मात्र कार्यरत छन् । मालपोत निमित्त अधिकृत मोहन दर्लामीले कठिन परिस्थितिमा पनि जसोतसो सेवा प्रवाह गरिरहेको बताए । उनले कर्मचारी पूर्ण नहुँदा सेवाग्राहीले दुःख पाएको बताए ।

उनले भने “कुनै एक कर्मचारी बिदामा जाँदा कार्यालयको सम्पूर्ण काम प्रभावित हुने अवस्था छ ।” मालपोत कार्यालयमा बिचौलियाको बिगबिगी रहेको सेवाग्राही सन्दीप चुदाँलीले बताए । घर नजिकै सेवा आए सहज हुने अपेक्षा गरेका उनले मालपोत जाँदा एक ठाउँ पुगेमात्र हुनेमा अहिले झन तिन चार ठाउँ धाउनुपर्ने बाध्यता छ । अर्का सेवाग्राही करिश्मा थारूले कार्यालय क्षेत्रमै राजश्व काउन्टर र तौलिहवा पटक पटक धाउनु पर्ने बाध्यता अन्त्य भएका मात्र सजिले हुने बताइन् ।
यता बाणगंगाको बोडाउँमा मालपोत तथा नापी कार्यालय स्थापना भई सेवा सुरु भएयता यहाँको व्यवसायिक चहल पहलमा भने बृद्धि भएको छ । सामान्य अवस्थामा सुनसान रहेको बोडगाउँमा अहिले व्यवसायिक क्षेत्रहरू बढेका छन् भने मालपोत कार्यालय आसपासमा कानुन तथा लेखापढी व्यवसायीहरूका कार्यालय, होटल, खाजाघर तथा कार्यालयीय प्रयोजनका कामकाज गराउने व्यवसायीहरूको समेत सक्रियता बढ्दो छ ।