Butwal Today

एमालेले पार्टीको सदस्य संख्या सात लाख ५० हजार पुर्‍याउने

१८ बैशाख २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ, वैशाख।

 नेकपा (एमाले) ले पार्टीको आगामी विधान महाधिवेशनसम्म सदस्य संख्या सात लाख ५० हजार पुर्‍याउने लक्ष्य लिएको छ। हाल पार्टीसँग करिब पाँच लाख ५० हजार सदस्य रहेको जनाएको छ।

पार्टीको संगठन विभागका सचिव माधव ढुंगेलका अनुसार, एमालेले यस वर्षलाई ‘पार्टीको आन्तरिक जीवनको वर्ष’का रूपमा लिएको छ। यसै सन्दर्भमा, पार्टी सदस्यता कुल मतदाताको ६ प्रतिशत पुर्‍याउने दीर्घकालीन उद्देश्यसहित सदस्यता विस्तारको अभियान अघि बढाइएको हो।

ढुंगेलले वैशाख महिनाभित्र नयाँ सदस्यता र नवीकरणको प्रक्रिया पूरा गरी जिल्ला कमिटीमार्फत प्रदेश कमिटीलाई बुझाउने निर्देशन दिइएको जानकारी दिए। “जिल्ला कमिटीहरूलाई वैशाखभित्र सदस्यता विवरण बुझाउन भनिएको छ,” उनले भने, “त्यसपछि प्रदेश कमिटीहरूले जेठको पहिलो सातासम्म केन्द्रीय कार्यालयमा विवरण बुझाउनु पर्नेछ।”

एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन गर्ने तयारी गरिरहेको छ। सो सम्मेलनमा पार्टी संरचना, नीति तथा सांगठनिक सुदृढीकरण सम्बन्धी महत्वपूर्ण निर्णयहरू लिइने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?