© २०२३
काठमाडौं,१८ वैशाख ।
नेपाल पुलिस क्लब विराटनगरमा जारी एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार समूह चरणको अन्तिम खेलमा पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लबसँगको उपाधि भिडन्त तय गरेको हो।
आसामले टस जितेर ब्याटिङ गर्दै ४२.२ ओभरमा १५४ रनमा समेटिएको थियो। पुलिसका अरुण ऐरी र श्रवन यादवले समान ३ विकेट लिए। जवाफमा लक्ष्य भेट्न २८ ओभरको समय सीमा तोकिएको पुलिसले २६.१ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। अमित श्रेष्ठले अविजित ७१ तथा कप्तान शंकर रानाले अविजित ६३ रन बनाए।
फाइनल खेल शनिबार बिहान ९ बजे त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ। विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन्।