© २०२३
बुटवल, १७ वैशाख ।
चन्द्रकोट गाउँपालिका, गुल्मीको आयोजनामा बृहत् आँखा उपचार तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ। शान्तिपुर आँखा उपचार केन्द्रको व्यवस्थापनमा सम्पन्न उक्त शिविर नेपाल नेत्रज्योति संघ जिल्ला शाखा गुल्मीको प्राविधिक सहयोग र शान्तिपुर स्वास्थ्य चौकीको व्यवस्थापन सहयोगमा सञ्चालन गरिएको हो। शिविरमा १३० जनाले सेवा लिएका थिए।
तीमध्ये ९४ जनालाई औषधि र चश्मा वितरण गरिएको छ भने मोतियाविन्दुको पहिचान भएका ३६ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो। साथै १५ जना बिरामीलाई थप उपचारका लागि भैरहवा रिफर गरिएको छ। ८६ वर्षीय लालबहादुर क्षत्री र चन्द्रमणी भण्डारीले गाउँमै सेवा पाएर खुसी व्यक्त गरेका छन्।
वरिष्ठ नेत्र विशेषज्ञ डा. सविता ढकालले गाउँमै सेवा प्रदान गर्दा बिरामीहरूको अनुहारमा अभूतपूर्व खुसी देखिएको बताइन्। शिविरमा चन्द्रकोटसँगै बरेङ र सत्यवती गाउँपालिकाका नागरिकले समेत सेवा लिएका थिए। समापन कार्यक्रम चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा सम्पन्न भयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेल, स्वास्थ्य शाखा प्रमुख प्रकाश शर्मा, शान्तिपुर आँखा उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष गणेश खत्री, प्रशासकीय अधिकृत शिव ज्ञवाली लगायतको उपस्थिति थियो। समापन कार्यक्रम नेत्र सहायक सुदीप पौडेलले सञ्चालन गरेका थिए।