© २०२३
काठमाण्डौ, १७ वैशाख ।
अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने भएको छ। प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक पारित गरेपछि सवारी लाइसेन्सको अवधि पाँच वर्षबाट १० वर्षमा परिवर्तन गरिएको हो। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार, सवारी लाइसेन्सको अवधि पाँच वर्ष राखिएको थियो, तर अबको संशोधनमा यो अवधि १० वर्षका लागि तय गरिएको छ।
प्रचलित ऐनको दफा ५४ मा चालक अनुमतिपत्रको वैधता सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ, जसका अनुसार, चालक अनुमतिपत्र दिइएको मितिले पाँच वर्षसम्म वैध रहने उल्लेख थियो। तर, अब दफा ५४ को उपदफा ३ मा रहेका ‘पाँच वर्षसम्म’ भन्ने शब्दलाई ‘दश वर्षसम्म’ भन्ने शब्दले बदलिएको छ।
यस विधेयकको प्रस्ताव अघिल्लो सरकारको पालामा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ द्वारा ल्याइएको थियो। यस विधेयकलाई २६ वैशाख २०८० मा प्रतिनिधि सभामा दर्ता गरिएको थियो र दफाबार छलफलका लागि २९ भदौ २०८० मा विषयगत समितिमा पठाइएको थियो। समितिबाट पास भएर १४ वैशाख २०८१ मा सभामा पठाइएको विधेयकलाई मंगलबार प्रतिनिधि सभाले पारित गरेको हो।
अब यो विधेयक राष्ट्रिय सभामा जान्छ र पारित भएपछि पुनः प्रतिनिधि सभामा फर्केर सभामुखको अनुमोदनसँगै राष्ट्रपतिकहाँ प्रमाणीकरणको प्रक्रियामा जानेछ। प्रमाणीकरणपछि यो नयाँ ऐनको रूपमा लागू हुनेछ।