© २०२३
अबको करीब दुई महिनापछि किसानका लागि रोपाईको चटारो सुरु हुँदैछ । किसानले रोपाईका लागि खेत खनजोतको काम सुरु गरिसकेका छन भने मलको जोहो गर्ने तयारी पनि सुरु भैरहेको छ । तर, सरकारसंग मल छैन । नेपाली अर्थतन्त्रको फराकिलो आधार भनेकै कृषि क्षेत्र हो । कृषिजन्य उत्पादन एवं व्यापारमा प्रतिस्पर्धा, व्यवसायीकरण र विविधीकरणमा जोड दिनुपर्ने आवश्यकता छ । नेपालको संविधानले खाद्य सम्प्रभुताको अधिकार स्वीकारेको छ भने सबै राजनीतिक पार्टीका चुनावी घोषणापत्रमा कृषिको चौतर्फी विकास गर्ने, कृषि क्रान्ति गर्ने, वैज्ञानिक भूमिसुधार लागू गर्ने, विदेशमा पलायन भएका युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्नेजस्ता थुप्रै ललिपप राखिएको छ । तर, वास्तविकता अर्कै छ । किसानले यो बर्ष पनि मल पाउने अवस्था छैन ।
सरकारसंग मलको पर्याप्त मौजदात छैन । मल आपूर्तिका लागि सरकारले बल्ल कोटेशन आह्वान गरेको छ । मल आईपुग्न यो बर्ष पनि ढिलाई हुने अवस्था छ । कृषि क्षेत्रको विकास, विस्तार र व्यावसायीकरणको लागि विशेष मुद्दाहरूमा सरकार, सहकारी र निजी क्षेत्रले विशेष ध्यान दिनु जरुरी छ । नेपालमा करिब २६ लाख ४१ हजार हेक्टर कृषियोग्य जमिन भएको अनुमान छ । त्यसमध्ये करिब १७ लाख ६६ हजार हेक्टर मात्र हाल सिंचाइ सुविधा पु¥याउन सकिने अवस्था रहेको सरकारी तथ्यांक छ । त्यसमा पनि आवश्यक मल समयमै नपाउँदा हरेक बर्ष उत्पादन घटिरहेको छ । यो बर्ष पनि खेतीपाती गर्ने समय नजिक आईसकेको छ ।
हरेक बर्ष जेठ महिनाबाट तराईका किसानले ब्याड राख्ने र त्यसपछि रोपाईको मेलो तयार गर्ने गर्दछन । खेतीपातीकै बेला किसानलाई मलको हाहाकारले सताउने गर्दछ । सरकारले किसानको यो समस्यालाई बुझेर यो बर्ष समयमै मलको व्यवस्था गर्नेतर्फ ध्यान दिनु जरुरी छ । मल पाएको अवस्थामा किसानले युरिया, डिएपी र पोटास खरिद गर्न आतुर छन तर यतिबेला युरिया मल कतै पाइएको छैन । किसानले युरिया मलको खोजी गरिरहँदा भने बजारमा मलको अभाव भएको गुनासो बढेको छ । लुम्विनी प्रदेशका सांसदहरूले प्रदेश सभाको बैठकमा रोपाईको बेला आउँदै गर्दा पटकपटक मलको सहज आपूर्तिको बिषयमा कुरा उठाउँदै आएका छन तर संघीय जस्तै प्रदेश सरकारले पनि त्यति चासो दिएको छैन ।
प्रदेश सरकारले गत बर्ष समय अगावै मलको व्यवसथा गर्ने घोषणा गरेको थियो तर सरकारले किसानलाई आश्वासनमात्र दियो । मल दिन सकेन । यद्यपि कृषकहरूले समयमै मल नपाउने समस्या अहिलेमात्र नभै धेरै वर्ष अघिकै समस्या हो । देश संघीय प्रणालीमा गएको र प्रदेशमा सरकार बनेलगत्तै धेरै आशा गरिएको थियो । बिडम्वना भनौं मलकै अभावले किसानहरू समस्या छन् । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले एकतिहाई योगदान पु¥याएको छ । मुलुकको झन्डै दुई तिहाइ श्रमशक्ति पनि कृषिमै निर्भर छन् ।
यसैले नेपाली अर्थतन्त्रको आधार भनेकै कृषि हो । तर, नेपाल अझैपनि परम्परागत कृषिमै निर्भर छ र यसको वैज्ञानिकीकरण अहिलेसम्म नारामा मात्र सीमित रहेको कटु यथार्थ हो । त्यसमाथि मलको समस्याले संकट नै निम्त्याएको छ । समयमा मल नआउँदा उत्पादनमा भारी कटौती हुने गरेको छ भने खेती गरिसकेपछि मात्र मल आउने जुन बाध्यता छ त्यसको अन्त्य गर्नैपर्दछ । पछिल्ला दिनमा कृषि क्षेत्रमा लगानीको आकर्षण पनि बढ्दो छ र वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै रहरलाग्दो व्यवसाय सुरु गरेका प्रशस्त उदाहरण पनि छन् । अहिलेसम्म सरकारले मलपनि समयमा उपलव्ध गराउन नसक्दा उत्पादकत्व बृद्धि हुन नसक्ने स्वयंसिद्ध तथ्य हो । यस विषयमा सरकारको ध्यानाकर्षण होस् ।