© २०२३
काठमाडौं,१६ वैशाख।
शिक्षकहरुको माग सम्बोधनका लागि संसदमा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ ल्याउने विषयमा सत्तापक्ष र विपक्षी दलबीच मतभेद देखिएको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विपक्षी दलले दर्ता गराएको प्रस्ताव कार्यसूचीमा नसमेटिएकोमा आपत्ति जनाउँदै तत्काल छलफल अघि बढाउन माग गरे। उनले सरकारको तर्फबाट मन्त्रीले समय नदिएर प्रस्ताव अगाडि नबढाइएको जवाफ आएको भन्दै सरकार संसदप्रति गैरजिम्मेवार देखिएको टिप्पणी गरेका छन्।
पाण्डेका अनुसार चालू अधिवेशनभरि सांसदहरूले शिक्षकको समस्या समाधानका लागि आवाज उठाइरहे पनि सरकार गम्भीर नभएको देखिएको छ। सरकारले शिक्षकहरूसँग गरिएका सहमति कार्यान्वयन नगर्दा आन्दोलन चर्किएको भन्दै उनले शिक्षकका जायज माग सम्बोधन गरी विद्यालयमा फर्काउने वातावरण बनाउन आग्रह गरे।
उता, प्रमुख विपक्षी दल एमालेका प्रमुख सचेतक महेश वर्तौलाले सरकार सदनप्रति जिम्मेवार रहेको जिकिर गरेका छन्। उनले शिक्षामन्त्री निरन्तर संवादमा रहेको जानकारी दिँदै विषय संवेदनशील भएकाले चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन्। सरकार अनुदार देखिएको जस्तो नबुझ्न उनले आग्रह गरेका छन्।