Butwal Today

नेप्से परिसूचक १५ अंकले झर्यो, कारोबार ७ अर्ब नाघ्यो

१६ बैशाख २०८२, मंगलवार
अ+
अ-

काठमाडौं

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मङ्गलबार दोहोरो अङ्कको गिरावट देखिएको छ। नेप्से १५.०८ अङ्कले घटेर २६३१.९८ बिन्दुमा झरेको छ, जुन ०.५७ प्रतिशतको गिरावट हो। आजको कारोबारमा ३११ कम्पनीका एक करोड ८४ लाख ९१ हजार ९४१ कित्ता शेयर ६६ हजार २६५ पटक किनबेच हुँदा कुल सात अर्ब ५७ करोड ५२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

आज म्युचुअल फन्ड बाहेक सबै समूहका उपसूचकहरू ओरालो लागेका छन्। सबैभन्दा धेरै गिरावट वित्त समूहमा देखिएको छ, जसको उपसूचक १.२२ प्रतिशतले घटेको हो। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी, बीमा, लघुवित्त, व्यापार, उत्पादन र अन्य समूहहरूमा पनि शून्य दशमलव २० प्रतिशतदेखि ९० प्रतिशतसम्मको गिरावट देखिएको छ।

कारोबारको पक्षमा हेर्दा, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यता, मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा सानिमामाई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रहँदै ८२ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने सर्वाधिक शेयर संख्यामा किनबेच भएका कम्पनीमा ङादी ग्रुप पावर लिमिटेड अगाडि रहेको छ, जसका १६ लाख ९८ हजारभन्दा बढी कित्ता शेयर कारोबार भए।