© २०२३
टोरन्टो ।
क्यानडाको आमचुनावमा मार्क कार्नी नेतृत्वको लिबरल पार्टी विजयी बनेको छ। बीबीसीका अनुसार, लिबरलले १६७ सिट जितेर सबैभन्दा ठूलो दलको रूपमा सत्ता जोगाएको छ, तर संसद्मा स्पष्ट बहुमत भने पाउन सकेको छैन।
हाउस अफ कमन्समा ३४३ सिटमध्ये सरकार गठन गर्न १७२ सिट आवश्यक पर्छ। विपक्षी कन्जरभेटिभ पार्टीले १४५ सिट जितेको छ। सन् २०१५ मा बहुमतमा रहेको लिबरल पार्टीले सन् २०१९ देखि अल्पसंख्यक सरकारको नेतृत्व गर्दै आएको हो।
पहिलोपटक निर्वाचित पदमा पुगेका कार्नीले यसअघि क्यानडा र बेलायतमा केन्द्रीय बैंकको गभर्नरका रूपमा काम गरिसक्नुभएको छ। उहाँले गत महिना जस्टिन ट्रुडोलाई प्रतिस्थापन गर्दै प्रधानमन्त्री पद सम्हाल्नुभएको हो।
चुनावपछि सम्बोधन गर्दै कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गर्नुभयो। उहाँले ट्रम्पले क्यानडालाई विभाजन गर्न खोजेको आरोप लगाउँदै त्यसो हुन नदिइने बताए। साथै, अमेरिकासँगको ‘पुरानो सम्बन्ध’ अब अन्त्य भएको समेत कार्नीको घोषणा थियो।
राष्ट्रपति ट्रम्पले हालै क्यानडालाई व्यापार युद्धको धम्की दिँदै अमेरिकाको ५१औं राज्य बनाउने अभिव्यक्ति दिएका थिए, जसले दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनाएको छ।