© 2026
काठमाडौ ।
काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन भ्यूटावर को भविष्य थप अन्यौलमा परेको छ। मेयर बालेन्द्र शाह यसलाई भत्काउने तयारीमा रहेको बेला उपमेयर सुनिता डंगोल पनि त्यसै पक्षमा खुलेकी छन्।
हालै पत्रकारहरूसँगको कुराकानीमा उपमेयर डंगोलले भ्यूटावर औचित्यहीन रहेको बताउँदै, यो संरचना जनताको विश्वास तोड्ने एउटा प्रतीक भएको धारणा व्यक्त गरिन्। “जनतासँग जे गर्छु भनेर लिइएको हो, त्यसैमा प्रयोग हुनुपर्छ,” भन्दै उनले स्पष्ट गरिन् कि नगरपालिकाले सटर बनाएर व्यापार गर्नु उचित होइन।
डंगोलले भने, “जहिले पनि म ‘पिपुल्स फस्ट’ को पक्षमा हुन्छु। हिजोका मान्छे छैनन् भनेर आजका पुस्तालाई ढाँट्न पाइँदैन।”
उपमेयरले भ्यूटावर मात्र होइन, काठमाडौंमा निर्माण गरिएका अन्य संरचना जस्तै ठमेलको छाया सेन्टर र होटल हिल्टन को पनि अध्ययन हुनुपर्ने बताइन्। विशेष गरी ऐतिहासिक पोखरीहरू मासेर बनाइएका संरचनाहरू भत्काएर मूल स्वरूप फर्काउनुपर्ने उनले धारणा राखिन्।
उनको भनाइमा, “हामीले सम्पदा जोगायौं भने त्यो सयौं वर्षसम्म जीवन्त रहन्छ। त्यस्तो सम्पदा नै सवैभन्दा ठूलो सम्पत्ति हो।”
यसैबीच, मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि टावरको नक्सा पास गर्न अनियमितता गरेको आरोप लगाउँदै कारबाही गरिसकेका छन्। उनले नीतिगत भ्रष्टाचार भएको दाबी समेत गरेका छन्।