© २०२३
काठमाडौं, १५ वैशाख ।
काठमाडौंमा आइतबार दिउँसो आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ । शिक्षकहरूले प्रहरी घेरा तोडेर निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो । त्यसपछि प्रहरीले शिक्षकहरूलाई लक्षित गर्दै पानीका फोहरा हानेको थियो । झडपमा ६१ जना शिक्षकहरू घाइते भएको नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन ।
घाइते शिक्षकहरूको एभरेस्ट, सिभिललगायत अस्पतालमा उपचार भइरहेको छ । शिक्षकका आँखा, ढाड, खुट्टालगायतमा चोट लागेको छ । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै चैत २० गतेदेखि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।
यता सत्ताधारी नेपाली कांग्रेसका नेता शेखर कोइरालले शिक्षक आन्दोलनमाथि प्रहरी बल प्रयोग गर्नु कुशासनको उदारण भएको टिप्पणी गरेका छन् । प्रहरी झडपमा शिक्षक घाइते भएपछि सामाजिक सञ्जालमा विचार व्यक्त गर्दै उनले एक महिना बित्दासमेत सरकारले समाधान दिन नसकेको आरोप लगाएका छन् ।
‘शिक्षा ऐन ल्याउनुपर्ने मागसहित शिक्षकहरू सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भयो,’ कोइरालाले लेखेका छन्, ‘पठन–पाठन र सरकारी भर्ना अभियान ठप्प छ । कक्षा १२ को परीक्षा समेत सरेको छ ।
यस्तो अवस्थामा शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरूमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरूलाई धम्क्याउनु सरकारको कुसाशनको अर्को उदाहरण हो । अब धेरै ढिला भयो। एक दुई दिन मै समस्या समाधान गरी पठन–पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।’उनले भनेका छन् ।