© २०२३
काठमाडौं, १५ वैशाख ।
विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्नुपर्ने मागसहित जारी शिक्षक आन्दोलनमा आज नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरु सहभागी भएका छन्।
पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल आज बिहान बानेश्वरस्थित आन्दोलन स्थल पुगेका थिए। बिहान ११ बजे सुरु भएको आन्दोलनमा केही समय उनीहरूले शिक्षकहरूसँग बिताए।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले उनीहरूलाई स्वागत गरेका थिए। कार्यक्रममा सहभागी हुँदै अध्यक्ष नेपालले संक्षिप्त प्रतिक्रिया दिँदै भने, “शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन हामी आएका हौं।”
शिक्षकहरूले विद्यालय शिक्षा ऐन तुरुन्त ल्याउनुपर्ने, अधिकार संरक्षण हुनुपर्ने लगायत माग राख्दै २७ दिनदेखि आन्दोलन गर्दै आएका छन्। आन्दोलनलाई क्रमशः विभिन्न राजनीतिक दल र सामाजिक क्षेत्रबाट समर्थन जनाइँदै आएको छ।