© २०२३
काठमाडौं, १५ वैशाख ।
दक्षिण कोरियामा अध्यागमन कानुन उल्लंघन गरेका पाँच नेपाली नागरिकलाई कोरियाली सरकारले निष्कासित गरेको छ। उनीहरूलाई कोरियन एयरलाइन्स र थाइ एयरवेजमार्फत नेपाल फर्काइएको हो।
सूचना अनुसार राई, थापा, डागी, राना र भण्डारी थर भएका ती नेपालीहरू गैरकानुनी रूपमा दक्षिण कोरियामा बस्दै आएका थिए। अध्यागमन विभागको निगरानीपछि उनीहरू पक्राउ परेका थिए।
राई, थापा र डागीलाई कोरियन एयरलाइन्सबाट सोझै काठमाडौं पठाइएको हो भने, राना र भण्डारीलाई थाइ एयरवेजमार्फत बैंकक हुँदै नेपाल डिपोर्ट गरिएको हो।
कोरियामा पछिल्लो समय गैरकानुनी रूपमा बस्ने विदेशीहरूमाथि निगरानी कडा बनाइएको छ। त्यहाँ कार्यरत एक नेपालीका अनुसार, “कागजपत्र नभएका विदेशीहरूमाथि कडाइ बढेको छ, र त्यस्ता व्यक्तिहरूलाई रोजगारी दिने कम्पनीहरू समेत अब निगरानीमा परेका छन्।”
दक्षिण कोरिया जाने युवाहरूले EPS प्रणालीबाहेकका वैकल्पिक तरिका खोज्ने क्रममा दलालहरूको झुटा आश्वासनमा परिरहेका छन्। भाषा परीक्षा र अन्य कानुनी प्रक्रिया नपुर्याई पुग्ने यस्ता नेपालीहरू अन्ततः कानुनी झमेलामा पर्ने गरेको देखिएको छ।
सरकार र सम्बन्धित निकायले यस्तो अवस्थालाई गम्भीर रूपमा लिई जनचेतना अभिवृद्धि र दलाल नियन्त्रणतर्फ विशेष ध्यान दिन आवश्यक देखिन्छ।