© २०२३
आज कामको सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस मनाईदैछ । विश्व श्रम संगठनको आह्वानमा श्रम र स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यो दिवस मनाईदै आइएको छ । कामको दौरानमा स्वास्थ्यको ख्याल गरौं भन्ने नाराका साथ यो दिवस मनाउने गरिएको छ । सन् २०२२ को जुन महिनामा भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले अन्तर्राष्ट्रिय श्रम संगठनको आधारभूत सिद्धान्त र सुरक्षित तथा स्वस्थ काम गर्ने वातावरण तयार गर्नुपर्ने निर्णय गरेको थियो । कामको दौरानमा चाहे त्यो श्रमिक होस या कामदार वा कुनै उपल्लो ओहदामा बसेर काम गर्नेहरु हुन, सवैको प्राथमिकता स्वास्थ्य सुरक्षा हो । यो दिवसकै अवसरमा जोखिमको काम गर्नेहरुलाई स्वास्थ्य सुरक्षा सम्वन्धि अलग्गै प्रशिक्षण दिनु जरुरी छ । किनभने अहिलेपनि कामको दौरानमा धेरै दुर्घटना भएका छन, त्यसबाट श्रमिकको ज्यान गएको छ । त्यसैगरी स्वास्थ्यलाई हानी पुग्ने काममा समेत श्रमिक मजदुर खटिएका छन ।
कैयौं जोखिमपूर्ण काम जो श्रमिक कामदारले गर्दै आएका छन, त्यसबाट स्वास्थ्यमा ठूलो समस्या आउँछ तरपनि काममा खटिनुपर्ने परिस्थिति छ । विभिन्न सर्वेक्षण अनुसार विश्वमा प्रतिदिन ६ हजार ३०० श्रमिकको मृत्यु कार्यसम्बन्धी जोखिमले हुने गर्दछ । कार्यमा सुरक्षा र स्वास्थ्यको अवस्थाको कमीले वर्षभरिमा २३ लाख मान्छेको मृत्यु हुने गर्दछ । यो गंभीर बिषय हो । तर यस विषयमा नजरअन्दाज गर्ने गरिएको छ । स्वास्थ्य सुरक्षाको सम्झौताका कारण कहिले संक्रामक रोग फैलिने त कहिले कार्यस्थलमा दुर्घटना हुने जस्ता अप्रिय घटनाहरू हुने गरेको हामी आफैले देखेका छौं । तसर्थ यो दिवसले यो गंभीर बिषयमा जनचेतना फैलाउने काम गरोस् । कसैले पनि जोखिमको काम गर्दैगर्दा मृत्युबरण गर्नु नपरोस् । काम सुरक्षाको ग्यारेन्टी गर्दैगर्दा काममा लगाउनेहरुले पनि धेरै भन्दा धेरै जोखिमको कामबाट श्रमिकलाई टाढा राख्नेतर्फ पहल गर्नु जरुरी छ । त्यही भएर नै विश्व स्वास्थ्य संगठनले यो दिवस मनाउन सुरु गरेको हो ।
काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस सन् २००३ देखि सुरक्षित, स्वस्थ र सभ्य कामलाई बढावा दिन मनाउदै आएको अन्तर्राष्ट्रिय अभियान हो । यस दिवसले कार्यस्थलमा हुने व्यावसायिक दुर्घटना र रोगहरुको रोकथामको लागि सचेनता फैलाउन उल्लेखनिय भूमिका खेल्ने गरेको छ । यो दिवस हरेक बर्ष मनाइन्छ तर जो जोखिममा छन, उनीहरुसम्म यो कार्यक्रम लक्षित गर्नु जरुरी छ । यो दिवसले सुरक्षित र स्वस्थ कार्यस्थलले कामदारहरूलाई चोटपटक र रोगबाट बचाउने कुरामा पर्याप्त चेतना छर्ने काम गरोस् । काममा सुरक्षा पहिलो सर्त हुनुपर्दछ । सुुरक्षासंगै स्वास्थ्यको बिषयमा पनि उत्तिकै ध्यान दिन सकियो भनेमात्रै यो दिवसको सार्थकता हुनेछ ।
जेहोस विश्व श्रम संगठनले जुन उद्देश्य र अभियानका साथ यो दिवस मनाउन सुरु गरेको हो, त्यो अत्यन्त महत्वपूर्ण छ । यसको सार्थकता तबमात्रै हुन्छ जब जोखिमबाट हुने मानवीय क्षति रोकिनेछ । नेपाल सरकारले पनि जसरी निजामति र सैनिकहरुका लागि अलग्गै श्रमिक अस्पतालको व्यवस्था गरेको छ, अवको दिनमा श्रमिक कामदारको लागि छुट्टै अस्पतालको व्यवस्था गरोस् । तर, विडम्वना के छ भने अझैपनि जोखिमको काममा खटिने श्रमिकहरुले आधारभूत स्वास्थ्य सेवा समेत प्राप्त गर्न नसकेको गुनासो सुन्ने गरिएको छ । कैयौं श्रमिकले काममा खटिँदा र स्वास्थ्य जोखिममा पर्दा उपचार खर्च समेत नपाएको अवस्था छ । यो बिषयमा पनि अव विश्व स्वास्थ्य संगठनले पैरवी गर्नु आवश्यक छ । सबै कामदार श्रमिकको स्वास्थ्यको पहुँच सुनिश्चित गर्न र आर्थिक कठिनाईबाट उपचार नै नपाउने अवस्थाको अन्त्य गर्नेतर्फ नेपाल सरकारले ध्यान देओस् ।