© २०२३
सरकारले मेटालाई फेसबुक, ह्वाट्सएप, म्यासेञ्जर लगायतका सामाजिक सञ्जाल दर्ताका लागि पटकपटक गरेको आग्रह नसुन्दा सरकारले अन्तिमपटक सात दिनको समय दिएको छ । यदि त्यो समय अवधीमा पनि दर्ता नगरिए नेपालबाट मेटा बन्द गर्ने सरकारले चेतावनी दिएको छ । निश्चितरूपमा मेटा नेपालमा प्रयोग हुँदा नेपालको ऐन, कानुन र नियम मेटाले पालना गर्नैपर्दछ । सम्वन्धित देशलाई कर तिर्नुपर्ने विश्वव्यापी नियम पनि हो । तर, मेटाले अटेरी गर्नु उसको कमजोरी हो । मेटा कानुनीरूपमा सरकारमा दर्ता हुनुपर्दछ र कर तिर्नुपर्दछ । अहिलेपनि मेटाले नेपालबाट मासिक लाखौं रुपियाँ रकम लगेको छ । आम्दानी गर्दा सम्वन्धित देशको नियम पालना गर्नैपर्दछ र करको दायरामा आउनैपर्दछ ।
मेटा करको दायरामा आउने सरकारको अपेक्षा छ । सामाजिक सञ्जाल नभै नहुने अनिवार्य आवश्यकता बनिसकेको छ । तर यसको दुरूपयोगले चिन्ता पनि थपिएको छ । सामाजिक सञ्जालले सूचना, मनोरञ्जन र शिक्षा प्रदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोमा दुईमत छैन । तर, पछिल्लोसमय यसको दुरूपयोग बढेको छ । मानव जीवनको अभिन्न अङ्ग बन्न सफल सामाजिक सञ्जालले कैयौँ मूल्य र मान्यता स्थापित गरेको छ तर त्यत्तिकै दुरूपयोग समेत हुँदा चुनौति सिर्जना समेत भएको छ । सामाजिक सञ्जालकै कारण अपराधका घटना बढ्दै गएको देखिएको छ ।
सूचना सम्प्रेषण गर्ने, सूचनामाथिको पहँुच, विविध ज्ञान आर्जन गर्ने, सीपको विकास, नाता सम्बन्ध जोड्ने, व्यापार प्रवद्र्धन, नवप्रवद्र्धन, ज्ञानमा आधारित समाजको निर्माणमा सामाजिक सञ्जालको योगदानलाई बिर्सन सकिदैन तर यसलाई दुरूपयोग गरेर अपराधका घटना बढेका छन् । एकातिर यसको दुरूपयोग बढ्ने, अर्कोतिर दर्ता नभएर गैरकानुनीरूपमा सञ्चालन हुन खोज्नु कुनैपनि अवस्थामा मिल्ने कुरा होइन ।
निश्चितरूपमा सामाजिक सञ्जालहरू इष्टाग्राम, युट्युब, फेसबुक, ट्वीटर, टिकटक, पिन्टेष्ट, स्न्यापच्याट आदिले मानिस र समुदायको बीचमा अन्तक्र्रियामार्फत विचार, रुचि, ज्ञान, मनोरञ्जन, जानकारी एक आपसमा आदानप्रदान गर्ने सशक्त माध्यम बनेको छ । प्रविधिमा भएको विकासको बदलिँदो परिवेशसँगै इन्टरनेट मानवजातिको अत्यावश्यक वस्तुभित्र पर्न सफल भएको विश्वले स्वीकार गरिसकेको छ । फेसबुक अहिले विश्वको सबैभन्दा बढी लोकप्रिय सामाजिक सञ्जालमध्येको एक हो । सामाजिक सञ्जाल चलाउँदा, खेल्दा अत्यन्त रमाइलो, मजाक हुने भए पनि यसले धेरैको घरबार चौपट बनाइदिएको छ । नाता सम्बन्धमा दरार ल्याएको छ ।
यसको गलत प्रभावमा परेर विद्यार्थीको पढाइ बिग्रनुको साथै मानव बेचबिखनको जोखिम बढेका समाचार आइरहेका छन् । सामाजिक सञ्जालको प्रयोगले ससाना धेरै नानीबाबुको नयाँ विषयवस्तु सोच्ने क्षमतामा ह्रास ल्याउनुका साथै घरबाहिर गएर खेल्ने, सिक्ने, सामाजिक दायित्व निर्वाह गर्ने समय बर्बाद गरिदिएको छ । सामाजिक सञ्जाल अपरिहार्य छ तर यसको प्रयोगमा ध्यान दिनु जरुरी छ । पछिल्लो एक अध्ययनले सामाजिक सञ्जालले खासगरी युवायुवतीहरूमा बिकृति फैलाएको देखाएको छ । खासगरि अपराधजन्य घटनाका पछि यही सामाजिक सञ्जालको दुरूपयोग भएको छ ।
जति पनि समाजमा हिंसाजन्य घटना भएका छन, त्यसमा सामाजिक सञ्जालको दुरूपयोग कारक देखिएको छ । तसर्थ अवको दिनमा नेपालमा सामाजिक सञ्जाललाई अनिवार्य दर्ता गराउनेतर्फ पहल गरी नियमनमा ख्याल गर्नुपर्ने आवश्यकता छ । सरकारले मेटालाई एकसाताको समय दिएको छ । अवको एक साताभित्रै मेटाले नेपालमा दर्ता हुने पहल गरोस् । नेपालबाट बार्षिक करोडौं रकम लैजाने तर दर्ता प्रकृयामा आएर कर नतिर्ने जुन बदमासी भएको छ, त्यसमा सरकारले कडाई गर्नैपर्दछ । फेसबुक, म्यासेन्जर, ह्वाटसएप प्रयोगको नाममा अवैध काम कुनैपनि अवस्थामा हुनुहुँदैन । यसतर्फ मेटा कम्पनीले ध्यान देओस् । सरकारले पनि सामाजिक सञ्जाललाई छाडा भन्दा नियमनमा ल्याउने काम गरोस् । भोलीको उन्नत पुस्ता र समाज निर्माणमा अहिलेदेखि नै ध्यान नदिने हो भने समस्या निम्तिन सक्ने भएकोले अहिलेदेखि नै पूर्व खबरदारीको काम गरियोस् ।