Butwal Today

अण्डाको मूल्य बढ्यो

१४ बैशाख २०८२, आइतबार
अ+
अ-

चितवन।

लामो समयदेखि घट्दो अवस्थामा रहेको अण्डाको मूल्य अन्ततः बढ्न थालेको छ, जसले लागत मूल्यसमेत नपाएर चिन्तित रहेका कुखुरापालक किसानहरूलाई केही राहत दिएको छ।

पछिल्लो वर्ष प्रति क्रेट (३० वटा) अण्डाको मूल्य रू. ५२५ सम्म पुगेको थियो, तर मूल्य घट्दै गएर रू. ३५० मा झरेको थियो। अब भने अण्डाको मूल्य बढेर रू. ४५० पुगेको छ। नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार आजदेखि लागू हुने गरी ठूलो अण्डाको समर्थन मूल्य प्रति क्रेट रू. ४३०, मझौलोको रू. ३८० र एक्सएल अण्डाको रू. ४५० तय गरिएको छ।

संघको शनिबार सम्पन्न बैठकले मूल्य समायोजनको निर्णय गरेको हो। नयाँ मूल्यअनुसार एक्सएल अण्डाको फार्म मूल्य प्रति पेटी (७ क्रेट) रू. ३१४०, ठूलो अण्डाको रू. ३००० र मझौलो अण्डाको रू. २६५० कायम गरिएको छ।

नेपालमा हाल अण्डाको लागत मूल्य प्रति गोटा औसत रू. १६.५६ पर्छ। उच्च मूल्य हुँदा अण्डा प्रति पेटी रू. ३६७५ सम्म पुगेको थियो। तर पछिल्लो केही महिनामा मूल्य घट्दा किसानहरू घाटामा गएर विस्थापित हुन थालेका थिए।

संघका सचिव मदन पोखरेलका अनुसार हाल गर्मीका कारण अण्डा उत्पादन घटेको छ भने बजारमा माग बढिरहेको छ। “उत्पादन घट्नु र माग बढ्नुका कारण मूल्य बढेको हो,” उनले बताए। अहिले दैनिक झण्डै ३० लाख गोटा अण्डा उत्पादन भइरहेको छ।

कृषकहरू मूल्य बढेसँगै केही हदसम्म आशावादी बनेका छन्।