© २०२३
जितपुर, १३ वैशाख ।
“जल पंक्षीहरूको राजधानी“ भनेर चिनिने कपिलवस्तुको जगदिशपुर तालमा गत वर्ष रोक लगाइएको मोटरबोट (स्टीमर) फेरि सञ्चालनमा ल्याइएको छ । विगतमा मोटरबोटका कारण तालमा बसोबास गर्ने चराको वासस्थान बिथोलिएको र जैविक विविधता तथा वातावरणमा असर पुगेको भन्दै डिभिजन वन कार्यालयले मोटरबोट सञ्चालनमा प्रतिबन्ध लगाएको थियो ।
हाल भने जगदीशपुर जलाशय व्यवस्थापन बहुउद्देश्यीय सरोकार मञ्चले तालको पर्यटकीय विकासका लागि ठेक्का दिएको जनाएको छ । मायादेवी गाउँपालिका–३ का बिनोद पालले ८ लाख ५० हजार रूपैयाँमा तालको ठेक्का लिएको र हाल एउटा मोटरबोट सञ्चालनमा रहेको जानकारी दिएका छन् ।
पर्यटकबाट एक ट्रिपको १ हजार ३ सय ५० रूपैयाँ शुल्क लिइन्छ भने भ्यू टावरमा प्रवेशका लागि समेत शुल्क लिने गरिएको छ । गत वर्ष पनि यही जगदिशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्चद्वारा ठेक्का दिइएपछि मोटरबोट सञ्चालन गरिएको थियो, तर कार्तिक २८ गतेदेखि त्यसमा रोक लगाइएको थियो ।
१ सय ५७ हेक्टरमा फैलिएको जगदीशपुर तालमा हिउँदको समयमा १५ देखि २० हजार जलपंक्षी आश्रय लिने गर्छन् । नेपालकै दोस्रो पक्षी आरक्ष क्षेत्रका रूपमा रहेको यो ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचीकृत भएको हो । चीन, रूस, मंगोलिया, युरोप लगायतका देशबाट जलपंक्षी आउने यो तालमा अहिले भने चराको आगमनको समय नभएको भन्दै मोटरबोट सञ्चालन गरिएको बताइएको छ ।
नेपाल सरकारले यो ताललाई राष्ट्रिय १ सय पर्यटकीय क्षेत्रमध्ये समेटेको छ भने लुम्बिनी प्रदेश सरकारले पनि २० प्रमुख पर्यटकीय गन्तव्यभित्र राखेको छ । तथापि, डुंगा सयरभन्दा बर्ड वाचिङ र जैविक विविधता संरक्षणमा आधारित विकास गरिनुपर्ने आवाज चुलिँदो छ ।