© 2026
नेपालगञ्ज, १३ बैशाख ।
नेपालगञ्ज स्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिबार बिहान आगलागी हुँदा कराडौंको क्षति भएको छ । मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा सर्ट सर्किट भइ आगलागी भएको अस्पतालले जनाएको छ । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले अस्पतालको मेडिकल स्टोरमा आगलागी हुँदा करिब तीन करोडभन्दा बढीको बहुमूल्य औषधी लगायत जलेर नष्ट भएको जानकारी दिए ।
अस्पतालमा प्रयोग हुने सबै प्रकारका औषधीसँगै उपकरण र प्रयोगशालामा प्रयोग हुने महँगो मूल्य पर्ने भ्याक्सिन लगायत सबै जलेर नष्ट भएकाले तीन करोडभन्दा बढी क्षति भएको हुनसक्ने अनुमान गरिएको बताए । आगलागीबाट केही कोठाका फर्निचर र कागजपत्रहरु समेत जलेर नष्ट भएका छन् । सुपरिटेन्डेन्ट डा.सुवेदीले भने, ‘क्षतिको विवरण सङ्कलन भइरहेको छ, आइतबारसम्म मात्रै क्षतिको यकिन विवरण उपलब्ध गराउन सकिन्छ ।’
शनिबार भएकाले मेडिकल स्टोरभित्र कर्मचारी र बाहिर बिरामी तथा अन्य मानिसहरु नरहेकाले मानवीय क्षति हुन नपाए पनि भौतिक क्षति भने ठुलो परिमाणमा भएको सुपरिटेन्डेन्ट डा.सुवेदीले बताए । मेडिकल स्टोरमा आगलागी भएलगत्तै तत्काल दमकल र प्रहरीलाई खबर गरिएको र अस्पतालका कर्मचारी तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिन सकिएको सुपरिटेन्डेन्ट डा.सुवेदीले बताए । आगलागीबाट मेडिकल स्टोरमा रहेका अधिकांश औषधी जलेर नष्ट भएका छन् । आगलागीका कारण सर्ट सर्किट बताइए पनि सो बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।