© २०२३
बुटवल, १२ बैशाख ।
नेपाल पत्रकार महासंघको आयोजनामा मिडिया मन्थन कार्यक्रम गरिएको छ । सञ्चार क्षेत्रको विभिन्न विषयमा चारवटा सेसनमा प्यानल छलफल गरिएको कार्यक्रम मिडिया मन्थनमा पत्रकारको पेसागत सुरक्षामा सबैजना सजग हुुनुपर्नेमा जोड दिईयो । पहिलो पत्रकारको सुरक्षा विषयक प्यानलमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पत्रकारको सुरक्षाको ग्यारेन्टी सरकारले गनुपर्ने भन्दै सोही अनुसार योजना बनाएर लाग्नुपर्नेमा जोड दिईन् । उनले नेपालमा पछिल्लो समयमा पत्रकार असुरक्षाका घटना कमै मात्रामा घटेपनि केही प्रतिनिधि उदाहरणले यसको विषयमा भने गम्भीर हुनुपर्ने बेला आएको बताईन् ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारको सुरक्षाको लागि ३ तहकै सरकारको योजनाबद्ध विकास आवश्यक पर्ने बताए । कार्यक्रममा लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधब ढुङ्गाना, पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे सहजकर्ताको रूपमा पत्रकार भवानी पान्डेले आ–आफ्नो भनाइ राखेका थिए ।
यसैगरी कसका समाचार कस्ता समाचार विषयक प्यानल छलफलमा स्वतन्त्र पत्रकार तीर्थ कोइराला, बाह्रखरी अनलाईनका विशेष सम्पादक हरिबहादुर थापा, लुम्बिनी दैनिकका सम्पादक शेर बहादुर के.सी, लुम्बिनी टेलिभिजनका समाचार प्रमुख भगवति पान्डे ले बहस गरेका थिए । जसको सहजीकरण सिपी खनाल गरेका थिए ।
यसैगरी मिडिया व्यवस्थापन सफल कि असफल विषयक प्यानल छलफलमा सेतोपाटीका व्यवस्थापक प्रकाश ढुंगाना, प्रकाशन तथा प्रशारण समाज लुम्बिनीका अध्यक्ष नवराज कुवँर, अनलाईन एशोसियनका अध्यक्ष गौतम भुसाल र रेडियो मुक्तिको व्यवस्थापक कल्पना तिवारीले भाग लिएका थिए । उक्त प्यानल छलफलको सहजकर्ता नरेश के.सीले गरेका हुन् । यसैगरी मिडिया मन्थनको आमसञ्चार र सामाजिक सञ्जाल सम्भावना र चुनौति विषयक प्यानल छलफलमा मिडीया अनुसन्धानकर्ता उज्ज्वल आचार्य, लुम्बिनी प्रदेश प्रविधि प्रतिष्ठानका प्रमुख अनुप बास्कोटा, विविसीका सम्वाददाता माधब नेपाल, देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेल रहेका थिए । उक्त कार्यक्रमको सहजकर्ता विनोद परियार सहजीकरण गरेका थिए ।
नेपाल पत्रकार महासंघ रूपन्देही शाखाको आयोजनामा कार्यक्रम पहिलोपटक आयोजना गरिएको हो । जसमा व्यवसायीक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरू, सरोकारवाला निकाय, विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो । यसैबीच बुटवल उपमहानगरपालिकाद्वारा स्थापित नेपाल पत्रकार महासंघ रूपन्देहीले प्रदान गर्दै आएको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार तेजेन्द्र केसी पुरस्कृत भएका छन् । उनी १ लाख रूपैयाँ सहित पुरस्कृत भए । यस्तै सुर्यप्रसाद प्रधान स्मृति विकास पत्रकारिता पुरस्कारबाट पत्रकार अमृता अनमोल र राम प्रसाद आचार्य पुरस्कृत भए । उनीहले ५०÷५० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका हुन । पुरस्कार रकम सहित सम्मान पत्र बुटवल उपमहानगर पालिका प्रमुख खेलराज पान्डे, नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्मा लगायतले प्रदान गरेका थिए ।