© २०२३
गुल्मी, ११ वैशाख ।
जिल्लामा कृषकहरूले यो पटक चैते धान रोपाइँ कार्य सम्पन्न गरिसकेका छन् । यहाँका किसानहरूले फागुनको अन्तिम सातादेखि वैशाख महिनाको पहिलो सातासम्म चैते धान रोपाइँको काम सम्पन्न गरेका हुन । जिल्लामा पछिल्लो समयमा बर्षेनी चैते धानको क्षेत्रफल घट्दै गएको छ । आर्थिक २०७९/८० मा तीन सय ४० हेक्टर क्षेत्रफमा चैते धान खेती गरिएको थियो । आर्थिक वर्ष २०८०/८१ मा तीन सय १९ हेक्टर क्षेत्रफल रहेको थियो भने यस आर्थिक वर्षमा तीन सय दुइ हेक्टर क्षेत्रफल मात्र चैते धान रोपिएको छ ।
कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालका अनुसार गत तीन वर्षको तथ्याङ्कको आधारमा जिल्लामा चैते धान उत्पादनको क्षेत्रफल बर्षेनी घट्दै गएको देखिन्छ । जिल्लामा वर्षेनी पाँच प्रतिशतले उत्पादकत्वको क्षेत्रफल घट्दै गएको कार्यालय प्रमुख धितालले बताए ।
गुल्मीमा आर्थिक २०७९/८० मा १५ सय ८१ र आर्थिक वर्ष २०८०/८१ मा १२ सय ८६ मेट्रिकटन चैते धान उत्पादन भएको थियो । गत दुई वर्षको अवधिमा जिल्लामा चैते धानको उत्पादमा ६ प्रतिशतले घट्दै गएको कार्यालयले जनाएको छ । यसरी चैते धानको क्षेत्रफल घट्नुमा मानिसहरूको बाक्लो बसाइँसराई, वैदेशिक रोजगार, उत्पादन लागतमा वृद्धि हुनु, समयमा पानी नपर्नु, जनशक्तिको अभाव लगायतका मुख्य कारणहरू रहेको बताइएको छ ।
यस आर्थिक वर्षमा भने १२ सय २६ जिल्लामा १२ सय मेट्रिकटन चैते धान उत्पादहुने ज्ञान केन्द्रले अपेक्षा गरेको छ । गत दुई वर्षमा ६ प्रतिशतले उत्पादन घटेपनि यस पटक समयमा पानी परेको र उन्नत विउका कारण उत्पादनमा चार प्रतिशत वृद्धिहुने अपेक्षा गरिएको कृषि ज्ञानकेन्द्रका बरिष्ट बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले बताएका छन । चैते धान असार महिना भित्रमा पाक्ने भएका कारण त्यही ठाउँमा पुनः बर्खे धान रोप्ने गरिन्छ । चैते धानको उन्नत जातमा चैते५ र स्थानीय मार्सी रोप्ने गरिन्छ । तर यहाँका कृषकहरूले उत्पादन धेरै दिने भएका कारण उन्नत बिउ प्रयोग गर्दै आएका छन । चैते धान बर्खे धानको तुलनामा चाँडो पाक्ने गर्दछ । कृषि ज्ञान केन्द्रले कृषकरुहलाई मूल बिउ बितरण, सिँचाई, प्राविधिक सेवा लगायतका क्षेत्रमा सहयोग एवं परामर्श दिने गरेको बरिष्ट बाली संरक्षण अधिकृत मरासिनीले बताए ।
जिल्लामा चैते धान हुने मुख्य स्थानहरूमा इस्मा गाउँपालिकाको चौरासी र हुलाके, चन्द्रकोटको मजुवा, सत्यवतीको जोहाङ् खैरेनी, गुल्मीदरबारको खज्र्याङ् र मालिकाको सिमलटारी रहेका छन । जिल्लामा चैते र बर्खे गरी सात हजार चार सय ३९ हेक्टर क्षेत्रफलमा धान खेती गरिदै आएको छ । जस अन्र्तगत गत आर्थिक वर्षमा जिल्लामा २४ हजार चार सय २६ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । जिल्लामा धान दोश्रो खाद्यान्न बालीको रूपमा रहेको छ ।