काठमाडौं,११ वैशाख ।
कश्मिरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कडा प्रतिक्रिया दिएका छन्। हमलामा संलग्न आतंककारीलाई “कल्पना गरेभन्दा धेरै कडा सजाय” दिइने चेतावनी दिंदै उनले दोषीमाथि सरकार दृढताका साथ प्रस्तुत हुने बताएका छन्।

आक्रमणपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै मोदीले पीडितहरूप्रति समवेदना प्रकट गर्दै भने, “जसले यो हमला गरेको छ, उसको हर हिसाबमा सजाय मिल्छ, मिल्छ। उसको कल्पना भन्दा धेरै सजाय मिल्छ।”
प्रधानमन्त्री मोदीले यो हमला पर्यटकमात्र नभई देशको आत्मामाथि आक्रमण भएको भन्दै सम्पूर्ण भारत शोक र आक्रोशमा रहेको बताए। उनले मृतक र घाइतेका परिवारलाई सरकारबाट उपचार र राहतका सबै प्रयासहरू भइरहेको जानकारी गराएका छन्।
कश्मिरको यो पछिल्लो आतंकवादी हमलापछि भारतमा राष्ट्रिय सुरक्षा र आतंकवाद नियन्त्रणका विषयमा फेरि बहस सुरु भएको छ। मोदीको कडा प्रतिक्रिया सरकारको आगामी कदम कति कठोर हुनेछ भन्ने संकेतका रूपमा हेरिएको छ।



