© २०२३
काठमाडौँ ।
अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल प्रवेश गरेका चार भुटानी शरणार्थीको बन्दी प्रत्यक्षीकरण सम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ।
न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासमा थुनामा रहेका अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष सुवेदीको तर्फबाट दायर गरिएको रिटमाथि बहसपछि सुनुवाइ सकिएको हो।
रिट निवेदकको तर्फबाट अधिवक्ता नारायणकुमार सुवेदीले थुनामा राखिएको कानुनी आधारको चुनौती दिँदै उनीहरूलाई देशनिकाला नगर्न माग गरेका थिए। अदालतले हालसम्म आदेश नदिए पनि चारै जनालाई प्रहरीको जिम्मा दिइसकेको छ भने आदेश लेखनको कार्य भइरहेको जनाइएको छ।
यसअघि वैशाख ४ गते न्यायाधीश हरिप्रसाद फुयालको इजलासले उनीहरूलाई देश निकाला नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै वैशाख ११ गतेसम्म अदालतमा पेस गर्न भनेको थियो।
गत चैत ११ गते अमेरिकाले १८ जना भुटानी शरणार्थीलाई डिपोर्ट गरेपछि चार जना भारत हुँदै भुटान गएका थिए। तर, भुटानले तिनीहरूलाई देश निकाला गरेपछि उनीहरू नेपाल प्रवेश गरेका हुन्। नेपाल छिरेपछि अध्यागमन विभागले उनीहरूलाई नियन्त्रणमा लिँदै निष्कासनको तयारी गरेको थियो।
हाल डिपोर्ट गरिएका अन्य १४ जनाको अवस्थाबारे जानकारी सार्वजनिक भएको छैन। ती सबै नेपाली मूलका भुटानी नागरिक हुन्, जो नेपालमा शरणार्थीको रूपमा दर्ता भई अमेरिका पुनर्वास भएका थिए।