© २०२३
बुटवल, १० वैशाख ।
रुपन्देहीमा सम्पन्न तेस्रो उपप्रमुख कप लुम्बिनी प्रदेशस्तरीय कराँते प्रतियोगिता–२०८२ मा दाङ जिल्ला प्रथम प्रथम भएको छ । सिद्धार्थनगर नगरपालिकाको सहयोगमा नेपाल कराँते महासंघ रुपन्देही, कालिका कराँते एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा शनिबार भएको अन्तिम दिनमा दाङ जिल्लाले ३ स्वर्ण, ४ रजत र ५ कांस्य पदकसहित प्रथम स्थान हासिल गर्न सफल भयो । पाल्पा जिल्लाले ३ स्वर्ण, ३ रजत र २ कांस्यसहित दोस्रो स्थान तथा रोल्पाले ३ स्वर्ण र १ रजत पदकसहित तेस्रो स्थान हासिल गरेको छ ।
एक समारोहका बिच सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा, शिक्षा शाखा प्रमुख चेतनशिल लम्साल, नेपाल कराँते महासंघ लुम्बिनी प्रदेश अध्यक्ष पदम बस्नेत, नेपाल कराँते महासंघका केन्द्रीय सदस्य अमिर राई र कमला राना, महासंघका जिल्ला अध्यक्ष सन्तोष सिंह, जिल्ला उपाध्यक्ष बुद्ध श्रेष्ठ, रेफ्री कमिसन सचिव मोहनलाल थापा, मधुसुधन घर्ती, प्रतीक्षा बि.सी., राजकुमार परियारले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा उपप्रमुख उमा अधिकारीले कराँते खेलाडीहरू अनुशासित र मर्यादित हुने गरेको उल्लेख गर्दै, यस्ता प्रतियोगिताले खेलकुद क्षेत्रमा सकारात्मक ऊर्जा दिने बताईन ।
विभिन्न तौलसमूह (वेट क्याटेगरी) मा सम्पन्न भएको प्रतियोगिताका विजेता खेलाडीहरूले आगामी वैशाख ११, १२, र १३ गते काठमाडौंमा हुने “प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराँते प्रतियोगिता २०८२” मा सहभागिता जनाउने कालिका कराँते एकेडेमीका अध्यक्ष कृष्ण देवकोटाले बताए ।