© २०२३
सुर्खेत,९ वैशाख ।
सल्यानको कपुरकोटबाट सुर्खेत लगिएको ८ सय ७० किलो काउली नष्ट गरिएको छ । विषादी अन्वेषण तथा विश्लेषण प्रयोगशाला इकाई सुर्खेतले परीक्षण गर्दा अत्यधिक विषादी प्रयोग गरेको पाइएपछि खान अयोग्य भन्दै काउली नष्ट गरिएको हो । कपुरकोट गाउँपालिका–६ छाँयानाथ लिउरेखोलाका किसानले उत्पादन गरेका काउली सुर्खेततका व्यापारी प्रवल शाहीले खरिद गरी अर्का व्यापारी रतन महतारालाई पठाएका थिए । उक्त काउली सुर्खेतको सब्जीमण्डीमा बिक्रीका लागि राखिएको थियो । काउलीमा ९९.३४ प्रतिशत विषादी रहेको र यसले मानवीय स्वास्थ्यलाई गम्भिर असर गर्ने भएकाले नष्ट गरिएको विषादी अन्वेषण तथा विश्लेषण प्रयोगशाला इकाई सुर्खेतका प्राविधिक धनसिंह धामीले बताएका छन् ।
कृषि तथा पुशपन्छी विकास मन्त्रालयको कृषि विभागको केन्द्रीय प्रयोगशाला अन्तर्गत सुर्खेतमा रहेको विषादी अन्वेषण तथा विश्लेषण प्रयोगशाला इकाईले परीक्षण गरेको उनले जानकारी जनाए । उनका अनुसार कपुरकोटबाट लगिएको काउलीमा अर्गानोफस्फेट समूहको विषादीको मात्रा देखिएको थियो । ‘सामान्यतः कुनै पनि तरकारीमा कार्वामेट र अर्गानोफस्फेट समूहको विषादी मात्रा ३५ प्रतिशतभन्दा कम भएमा खान योग्य, ३५ प्रतिशतदेखि ४५ प्रतिशत भएमा केही दिन क्वारेन्टाइनमा राख्ने र पर्खिने र ४५ प्रतिशत भन्दा बढी देखियो भने त्यसलाई खान योग्य मानिँदैन र नष्ट गर्नु हुन्छ, उनले भने ।