© २०२३
सुनवल, ०९ बैशाख ।
नेपालबाट भारत तर्फ कुखुराका चल्ला तस्करी हुन थालेको छ । सधै भारतबाट अवैध रूपमा आयात भएका कुखुरा, अण्डा तथा चल्ला नष्ट गर्दै आएको प्रहरीले सोमबार पश्चिम नवलपरासीबाट भारत तर्फ लैजान लागिएको चल्ला बरामद गरि नष्ट गरेको छ । पाल्हीनन्दन गाउँपालिकाको वडा नम्बर पाँच चमनटोला स्थित दशगजा नजिकबाट भारत तर्फ लैजान लागिएको अवस्थामा उक्त चल्ला प्रहरीले बरामद गरेको हो । ९० वटा कार्टुनमा रहेका ५ हजार ४ सय चल्ला पशु क्वारेन्टाइन चेकपोष्ट महेसपुरमा नष्ट गरिएको प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुँयालले जानकारी दिए ।
भारतबाट आएका पन्छीजन्य पर्दाथ दैनिकजसो नियन्त्रणमा लिने गरेको भएपनि नेपालबाट भारततर्फ तस्करी गरेर लान लागेका भने पहिलो पटक थाहा भएको फुँयालले बताए । सुर्खेतको विरेन्द्रनगरमा रहेको कर्णाली ह्याचरी उद्योग प्रा.ली बाट पाल्हीनन्दनको सीमावर्ती क्षेत्रमा रहेको सना खातुन पोल्ट्री फर्मका नाममा प्रति चल्ला ३५ रूपैयाँका दरले दश हजार दुई सय चल्ला बापत ३ लाख ५७ हजार रूपैयाँको प्यान बिल काटिएको छ । ह्याचारी उद्योगका संञ्चालकले पनि आफूले बिल काटेर उक्त चल्ला नवलपरासी रहेको पोल्ट्री फर्ममा बिक्री गरेको प्रहरीसँग बताएका छन् । बिलमा उल्लेख भएअनुसार अझै ४ हजार ८ सय वटा चल्ला फेला परेको छैन् ।
गहुँ खेत हुँदै मानिसले बोकेर चल्ला लादै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । भारतमा अहिले चल्लाको मुल्यमा केहि वृद्धि भएकाले नेपाल तर्फबाट तस्करी सुरु भएको बताइएको छ । पशु क्वारेन्टाइन चेकपोष्ट महेसपुरका प्रमुख मनोज अधिकारीका अनुसार नवलपरासीबाट भारत तर्फ चल्ला तस्करी भएको पहिलो पटक थाहा पाएको बताए ।
अन्य जिल्लाबाट तस्करी हुने गरेको सुनिएपनि नवलपरासीबाट पहिलो पटक बरामद भएको उनले बताए । भारतमा वृद्धि भएर प्रति चल्ला नेपाली एक सय रूपैयाँ सम्म मूल्य पुगेपछि नेपाल बाट तस्करी हुन थालेको बताइएको छ । नेपालबाट तिस देखि चालिस रूपैयाँ सम्मा बिक्रि हुने गरेको छ । प्रहरीले चालु आर्थिक वर्षको हाल सम्मको अवधिमा भारत बाट ल्याइएका २ हजार १ सय ४३ कुखुरा, १९ हजार २ सय १६ वटा कुखुराका चल्ला बरामद गरि नष्ट गरेको छ । भारततर्फ कुखुराजन्य पदार्थ निर्यात गर्नुपरेमा सबैभन्दा पहिले पशु सेवा विभागबाट स्वीकृती लिएको हुनुपर्दछ ।