© २०२३
दाङ,९ बैशाख ।
गाउँका सडक बिस्तार हुँदा नागरिक खुसी भएका छन् । घोराही उपमहानगरपालिका –६ का गाँउबस्ती सडक बिस्तार हुँदा स्थानीयलाई सहज भएको छ । चैनपुर – अघरा सडक बर्षौसम्म ग्राभेलमात्र रहेको थियोे । अहिले पक्की नालासहितको सडक बिस्तारले गाउँलेलाई हिडडुल गर्न सजिलो भएको छ । सो सडकमा पक्की नाला र सडक बिस्तारको काम सकिएको छ । घोराही उपमहानगरपालिका –६ अघराका सीता घर्तीलाई घोराही बजार आउनुपर्दा आधा घण्टा हिडेर गाडी भेटाउन आउथिन् । अहिले गाउँको सडक नाली सहित बिस्तार भएपछि घरमै अटोरिक्सा पुग्ने गरेको उनले बताइन् । स्थानीय सरकारले पूर्वाधार विकासमा जोड दिँदै गाउँहरूलाई सडक सञ्जालमार्फत जोड्ने काम तीव्र रुपमा अघि बढाएका कारण सहज भएको उनले बताइन् । सडक बिस्तार भएसँगै गाउँघरको जीवनशैलीमा परिवर्तन आएको उनको भनाइ छ । गाउँघरमा उत्पादन भएका कृषिजन्य उत्पादन सजिलै शहरसम्म र्पुयाउन सकिने र आम्दानी गर्न सकिने गरेको उनले बताइन् । गाउँसम्म गाडी पुग्न थालेपछि बजारसँगको पहुँच बढेको छ ।
अघरा –जजरागाउँ सडकमा पनि पक्की नाला निर्माण र सडक बिस्तारको काम सकिएको छ । सडक सञ्जालको विस्तारले शिक्षा र स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पारेको स्थानीय मिना पाण्डे बताउछिन् । वर्षामा हिलो र हिँउदमा धुलो उड्ने भएकाले बालबालिकालाई विद्यालय पुग्न अफ्ठेरो हुने गरेको थियो अहिले सडक बिस्तार भएपछि सबैलाई सजिलो भएको उनले बताइन् । गाउँमा सञ्चार, विद्युत, खानेपानीका धारा घरघरमा पुगेका छन् । सडक सञ्जालले गाउँघरलाई आधुनिक विकासमा जोड्ने काम गरेको पाण्डे बताउछिन् ।
घोराही उपमहानगरपालिका वडा नम्वर ६ का अध्यक्ष बिष्णुराम आचार्यले वडा भित्र सडक नपुगेका स्थानमा नयाँ ट्रयाक खोल्ने र भएका सडकमा स्तरउन्नती गर्ने काम गरिरहेको बताए । स्थानीय सरकारले स्थानीयस्तरमा आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरेको बताए । गाउँका नागरिकलाई सहज यात्रा गर्नका लागि सडक बिस्तार र स्तरउन्नती गरिएको उनी बताउछन् ।
त्यसैगरी आव २०७९/०८० मा १० किमि र आव २०८०/०८१ मा १८ दशमलव ८० किमि सडक कालोपत्रे भएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए । उनका अनुसार ७ वर्षमा कुल २ सय १७ दशमलव २५ किमि सडक ग्राभेल तथा स्तररोन्नतीको काम गरिएको उनले बताए । त्यसैगरी १ सय ६८ किलोमिटर स्थानीय नयाँ सडकको ट्रयाक खोल्ने काम गरिएको उनले बताए । उपमहानगरपालिकाले ७ मिटरका सडकहरुमा नाला सहित कालोपत्रेको काम गरिरहेको र नाला सहित कालोपत्रे गर्दा ढल निकासमा पनि सहयोग पुग्ने चौधरीले बताए ।