© २०२३
सल्यान, ०९ बैशाख ।
एउटै गाउँपालिकाका किसानले सहकारी मार्फत करिब डेढ करोड रूपैयाँको खसी बिक्री गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिकाले सहकारी मार्फत खसी बिक्री गर्दा प्रतिकिलो २० रूपैयाँ अनुदान दिने भएपछि किसानहरू बाख्रापालन व्यवसायमा आकर्षित भएका हुन् । चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्म किसानहरूले सहकारी मार्फत एक करोड ३९ लाख ११ हजार ७३४ रूपैयाँ बराबरको खसी विक्रि गरेको गाउँपालिकाले जनाएको छ । पशु सेवा शाखाका प्रमुख वसन्त रावतका अनुसार नौ महिनाको अवधिमा पाँचवटा सहकारी मार्फत किसानले उत्पादन गरेका ८४० खसी निर्यात भएका छन् ।
दुर्गा भवानी उद्यमी महिला सहकारी मार्फत ४१८ खसी बिक्री गरेर किसानले ५८ लाख २० हजार ३०५ रूपैयाँ आम्दानी गरेका छन् । यस्तै नमुना सामाजिक उद्यमी महिला सहकारी मार्फत १८८ खसी बिक्री गरेर ३७ लाख नौ हजार ४४२ रूपैयाँ, उपहार सामाजिक उद्यमी महिला सहकारीमार्फत १३७ खसी बिक्रि गरेर २४ लाख १० हजार ७४१ रूपैयाँ र त्रिवेणी पशुपालन व्यवसायिक सहकारी मार्फत ९७ खसी विक्रि गरेर १९ लाख ७१ हजार २५५ रूपैयाँ किसानले हात पारेको पशु सेवा शाखा प्रमुख रावतले जानकारी दिए ।
कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तर्गत त्रिवेणी गाउँपालिकाले सहकारी तथा समूहमार्फत एकसय किलो भन्दा बढी खसी बिक्री गर्ने किसानलाई प्रतिकिलो २० रूपैयाँ उपलब्ध गराउँदै आएको छ । साथै व्यवस्थापनका लागि प्रतिकिलो एक रूपैयाँको दरले सहकारीलाई समेत रकम उपलब्ध गराउनेगरेको छ । आर्थिक वर्ष २०७६/०७७ देखी नै गाउँपालिकाले अनुदान उपलब्ध गराउँदै आएको जनाउँदै गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले वडा नम्बर २ ४ र ५ लाई बाख्रा पकेट क्षेत्रको रूपमा विकास गरिएको बताए । “किसानहरूले खसीबोका बिक्रि गरेर राम्रो आम्दानी गर्दै आईरहनुभएको छ”, उनले भने, “व्यापारीहरूले आफूखुसी खसीबोकाको मूल्य निर्धारण गर्दा किसानहरू मारमा पर्ने गरेको गुनासो पनि थियो । सहकारी मार्फत खसीबोकाको बजारीकरण भएदेखि किसानहरू खुसी हुनुहुन्छ ।”
गत आर्थिक वर्षमा मात्रै त्रिवेणीका किसानहरूले सहकारी मार्फत दुई करोड ३६ लाख ३० हजार ६२९ रूपैयाँको खसी बिक्री गर्दै पालिकाको अनुदान समेत पाएका थिए । खसी विक्रिका लागि गाउँपालिकामा समूह, सहकारी सूचिकृत हुन सक्ने भएपनि यस वर्ष पाँच वटा सहकारी संस्था मात्रै सुचिकृत भएका छन् । गाउँपालिकाले पशु सेवा शाखामार्फत पशु स्वास्थ्य सेवा, पशु आहारा विकास कार्यक्रम, पशु प्रजनन सेवा, तालिम तथा पशु सेवा प्रसार कार्यक्रम, पकेट प्याकेज कार्यक्रम, व्यावसायिक फार्म प्रवद्र्धन कार्यक्रम, पशुपंक्षी बजार प्रबद्र्धन र नियमनका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।