© २०२३
नेपालगञ्ज, ८ वैशाख ।
बाँके राष्ट्रिय निकुञ्जले एक साता सम्म विविध कार्यक्रमसहित वन्यजन्तु सप्ताह सम्पन्न गरेको छ । ‘बुझौं वन्यजन्तुको आनीबानी, घटाऔं मानवसँगको द्वन्द्व र हानी नोक्सानी’ भन्ने मूल नारासहित गत वैशाख १ गतेदेखि सञ्चालित वन्यजन्तु सप्ताहको आइतबार एक औपचारिक कार्यक्रमकाबीच समापन गरिएको हो ।
निकुञ्ज कार्यालय परिसरमा आयोजित समापन समारोहमा सप्ताह अन्तर्गत गरिएका कार्यक्रमको समिक्षा गर्दै आगामी दिनमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, जैविक विविधता संरक्षण तथा पर्यापर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने वक्ताहरुले धारणा राखेका थिए । सो अवसरमा बोल्दै बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रकुमार कँडेलले निकुञ्जमा वन्यजन्तु अवलोकनको प्रशस्त सम्भावना रहेको बताए ।
वन्यजन्तु सप्ताह मनाउने क्रममा गरिएको जंगल सफारीमा आफूहरुले जंगलमा चित्तल, नीलगाई, सालक, जरायो, चौकालगायत विभिन्न चराचुरुङ्गी तथा पाटेबाघको समेत अवलोकन गर्न पाएको बताए । उनले भने, ‘बाँकेमा पनि अब वन्यजन्तु अवलोकन सहज भएको छ, पर्यटक भित्र्याएर प्रशस्त लाभ लिने समय आएको छ ।’
यसका लागि निकुञ्जले सबै आवश्यक पूर्वाधारहरु निर्माण गरिसकेको उनले जानकारी दिए । निकुञ्जलाई संरक्षणका साथै स्थानीयबासीका लागि आयआर्जनसँग जोड्नुपर्नेमा उनले जोड दिए ।
सबैको साझा पहलबाट नै निकुञ्जलाई स्थानीयको आयआर्जनसँग जोड्न सकिने वरिष्ठ संरक्षण अधिकृत कँडेलको भनाइ थियो । सप्ताह अन्तर्गत निकुञ्जले जंगल सफारी, हात्ती पूजा, हाइकिङ तथा संरक्षणसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गरेको थियो ।
वन्यजन्तु सप्ताह अन्तर्गत नै यस बर्ष पनि बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारीको सुरुवात गरिएको छ । एक साताकै बीचमा करिब ८ पटक जंगल सफारी भइसकेको र विदेशी पर्यटकले समेत सफारी गरेको निकुञ्जले जनाएको छ । राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न वन्यजन्तु सप्ताह समापन समारोहमा सप्ताह अन्तर्गत सञ्चालित विभिन्न प्रतियोगितात्मक कार्यक्रमका विजेताहरुलाई पुरस्कार वितरण, मध्यवर्ती क्षेत्रका वन्यजन्तुपीडित विपन्न परिवारका जेहेन्दार छात्रछात्राहरुलाई छात्रवृति वितरण, जैविक विविधता संरक्षण तथा पर्यटन प्रवद्र्धनमा योगदान दिएका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
जैविक विविधता संरक्षण र पर्यटन प्रवद्र्धनमा विशिष्ट योगदान पु¥याएको भन्दै निकुञ्जले समुदायमा आधारित चोरी शिकार नियन्त्रण अभियान (सी बी ए पी यु) राप्ती सोनारी ९ का अध्यक्ष शान्ति चौधरी, बाँके राष्ट्रिय निकुञ्ज ब्यवस्थापन समितिका संस्थापक अध्यक्ष सावित्रा पुन, सामुदायिक होमस्टे एशेसिएशनका केन्द्रीय महासचिव कृष्णलाल चौधरीलगायतलाई सम्मान गरिएको थियो ।