© २०२३
बुटवल, ८ बैशाख । देशका प्रमुख बसपार्कहरूमा महिला मैत्री टिकट काउन्टर नहुनाले महिलाहरूले दैनिक रूपमा असहजता र असुरक्षा अनुभव गरिरहेका छन् । लामो यात्राको लागि टिकट काट्न जाँदा पुरुषको भीड, धक्कामुक्की, र असहज व्यवहारका कारण धेरै महिलाहरू झस्किन्छन् । सार्वजनिक यातायात महिला र बालबालिकाका लागि सुरक्षित र सहज हुनुपर्छ भन्ने आवाज त उठिरहेको छ, तर व्यवहारमा भने महिला मैत्री पूर्वाधार अझै अपुरो छ । टिकट काउन्टरहरूमा महिला कर्मचारीको अभाव, पृथक पंक्तिको व्यवस्था नहुनु, र सहायता केन्द्रको अभावले स्थिति झनै गम्भीर बनाएको छ । चाडपर्वका बेलामा यो समस्या कयौं गुणा बढि हुने उनिहरु बताउछन् ।
बस ब्यबसायी समेत रहेकी बुटवल १३ बेलबासकी मन्जु बस्नेतले चाडबाडका बेला निकै भिडभाड हुने भएकोले महिला यात्रुहरुले निकै सास्ती खेप्नु परेको दुखेसो गरिन । महिलामैत्री टिकट काउन्टरका लागि आवाज उठाईरहेको उनले बताईन । पश्चिम नेपाल बस प्रा.लि.का सल्लाहकार समेत रहेकी बस्नेतले महिलाहरुले टिकट काट्दा पुरुषहरुको भर पर्नुपर्ने अवस्था रहेको र यसको अन्त्य गर्न सरकार र ब्यबसायीहरु गम्भिर हुनुपर्ने बताईन । तिलोत्तमा मणिग्राम निवासी अर्की ब्यबसायी तथा सल्लाहकार बिना न्यौपानेले आफु बस ब्यबसायी भएपनि कतिपय अवस्थामा यात्रा गर्दा महिला मैत्री काउन्टर र ब्यबहारको अभाव र असहज महसुस गरेको बताईन् । यसका लागि आफनो तर्फबाट प्रयास भैरहेको उनले जानकारी दिईन । यस्ता काउन्टरहरूमा महिला कर्मचारी, पृथक पंक्ति, र सहयोगी जानकारी केन्द्रको व्यवस्था भएमा महिलाहरूको यात्रा अनुभव थप सहज र सुरक्षित हुने उनको तर्क छ ।
बालबच्चा, गरगहना साथमा हुने भएकाले हराउने वा चोरी हुने डर, टिकट काउन्टरमा महिला कर्मचारी पनि नहुने लगायतका कारण अत्यन्तै असहज अवस्थाबाट गुज्रिनु परेको महिला यात्रुहरुको भनाई छ । पुरुष यात्रु वा काउन्टरका कर्मचारीले महिला यात्रुहरुलाई सहजै टिकट उपलब्ध गराउने, सवारी साधन सम्बन्धी जानकारी गराउने, यात्राको बिषयमा सहजीकरण गर्ने लगाएतका बिषयमा सहानभुुती देखाए पनि टिकट प्रदान गर्ने सवालमा भने पुरुषसरह नै भिड्नु पर्ने बाद्यता रहेको महिलाहरु बताउछन् । उता बस संचालकहरु भने काउन्टरलाई ब्यबस्थित गरि महिलामैत्री बनाउने प्रयास भैरहेको बताउछन् । कर्मचारीहरुलाई तालिम प्रदान गरि महिलामैत्री ढंगले यात्रुहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले काउन्टर समेत ब्यबस्थित गरिएको दावी बस संचालकहरुले गरेका छन् ।
पश्चिम नेपाल बस प्रा.लि.का अध्यक्ष दधिराम खरेलले काठमाडौं र लुम्बिनी प्रदेशमा रहेका टिकट काउन्टरमा महिला कर्मचारी राखेर महिला मैत्री सेवा प्रदान गर्ने योजना अघि सारिएको बताए । पाल्पाबाट शुरुभएको महिलामैत्री काउन्टर सेवालाई क्रमशःदेशैभरि लागु गर्ने योजना रहेको अध्यक्ष खरेलले जानकारी गराए । पाल्पाको तानसेनमा रहेको टिकट काउन्टरमा महिला कर्मचारी रहेको र महिला मैत्री सेवाको शुरुआत भैसकेको दावी अध्यक्ष खरेलको छ । महिला कर्मचारी हुदा अनुशासन, ईमान्दारिता र कर्तब्यबोधको पालना हुने बिश्वास खरेलले गरे ।
राज्यका सबै तहमा महिला मैत्री, अपाङ्ग मैत्री, बालबालिका मैत्री लगाएतका समतामुलक ढंगले सेवा प्रदान गर्ने नितिगत ब्यबस्था छ तर यातायातको क्षेत्रमा यो लागु हुन नसकेको आम मानिसको भनाई छ । अझ चाडपर्वका बेला त निकै समस्या झेल्नुपर्ने बाध्यता रहेको यात्रुहरु बताउछन् । दैनिक लाखौं मानिसहरुले यात्रा गर्ने यातायात क्षेत्रमा काउन्टर ब्यबस्थापन, टिकट ब्यबस्थापन र महिला मैत्री सेवाको ब्यबस्था लागु गर्न भने कसैको ध्यान पुगेको छैन ।
स्थानीय प्रशासन र यातायात व्यवस्था कार्यालयलाई महिलाको सुरक्षा र सहज यात्राको सुनिश्चितताका लागि तत्काल महिला मैत्री टिकट काउन्टरको व्यवस्था गर्न आवश्यक रहेको छ ।