© २०२३
अधिकांश मानिस बुद्धलाई शान्तिका अग्रदूत मान्दछन् । परम्परागतरूपमा त्यहि सुन्दै र पढ्दै आएका कारण उनीहरूले यसो मान्नु स्वाभाविक पनि हो । तर, बुद्धलाई शान्तिका अग्रदूत भन्नु गलत अभ्यास हो । बरु बुद्धलाई शान्तिका नायक भन्न सकिन्छ । बुद्धलाई शान्तिका महागुरु भन्दा पनि फरक पर्दैन । बुद्ध शान्तिका अग्रदूत चाहिँ होइनन् । पहिला अग्रदूतको शाब्दिक अर्थ परीक्षण गरौँ । अग्रदूत । अग्र र दूत । अग्र अर्थात् पहिलो वा सबैभन्दा अगाडिको । दूत अर्थात् सन्देशबाहक । प्रज्ञा नेपाली वृहत् शब्दकोशले पनि दूतको अर्थ सन्देशबाहक नै मानेको छ । पौराणिककालमा अहिलेजस्तो सञ्चारको विकास थिएन । यस्तो कामका निम्ति व्यक्ति तोकिन्थ्यो । त्यस्ता व्यक्ति दूत कहलिन्थे । अहिले अवस्था फेरिएको छ । आजको युगमा सन्देशबाहकको काम सञ्चारमाध्यमहरूले गर्दछन् ।
यद्यपि राज्यराज्यका वीच सम्बन्ध सेतु बढाउन दूत नियुक्त गर्ने प्रचलन छ । यस्ता व्यक्तिलाई अहिले राजदूत भनिन्छ । कहिलेकाँही प्रधानमन्त्री वा राष्ट्रप्रमुखको दूतको रूपमा व्यक्तिलाई नियुक्त गरी अर्र्काे देशमा पठाउने चलन पनि छ । यस्तो परिस्थितिमा सामान्यतया दूत विषयको ज्ञाता त हुन्छ, तर उसँग कार्यकारिणी अधिकार भने हुँदैन । अग्रदूतको अर्थ बुझेपछि प्रश्न गरौँ, बुद्ध शान्तिका अग्रदूत थिए भने उनले कसको सन्देश लिएर आएका थिए त ? उनी जिसस क्राइष्ट वा मोहम्मद पैगम्बरजस्ता ईश्वरका सन्देशबाहक त थिएनन् । किनकि बुद्ध स्वयम् अनिश्वरवादी थिए । ईश्वर छ छैन भन्ने प्रश्नमा अल्झिनुभन्दा मानव सेवामा लागिरहन प्रेरणा दिन्थे उनी । बुद्धशिक्षा दुःख मुक्तिमा केन्द्रित छ । बुद्धले स्वयम्ले विपश्वयना ध्यान विधिबाट आफै प्राप्त गरेको ज्ञानलाई फैलाउने काम गरेका हुन् । यही कारणले बुद्धलाई शान्तिको अग्रदूत भन्न मिल्दैन ।
बुद्धले ईश्वरमा होइन, कर्ममा विश्वास गर्न सिकाएका छन् । मान्छेको भविष्य कर्मले निर्धारण गर्दछ । सुपारी रोपेर धान फल्दैन । आलु रोपी ईश्वर प्रार्थना गरी आँप फलाइदिनु भनेर आँप फल्छ र ? ईश्वर हुँदो हो त त्यो पनि सम्भव थियो होला । त्यसैले ईश्वरको परिकल्पना बौद्ध धर्ममा कहिँ कतै पनि छैन । बुद्धदर्शन त कार्य–कारणको कठोर सम्बन्धमा आधारित छ । त्यसैले बौद्ध धर्ममा ईश्वरबारे बहस गर्नु व्यर्थ मानिन्छ । ईश्वरको भक्ति गर्दैमा खानेकुरा मुखसम्म आउँदैन । त्यसको लागि मिहिनेत गर्नु पर्दछ । ईश्वरको भजन गाउँदैमा स्वर्गको बाटो खुल्ने होइन । कुकर्म गरेर भगवद्भक्ति गर्दैमा ईश्वरले स्वर्ग पठाइदिने पनि होइन । ईश्वरले कर्मफल परिवर्तन गर्न सक्दैन । यही कारणले बौद्ध धर्ममा ईश्वरको आवश्यकता नदेखिएका हो । बुद्धकालीन समयमा धर्मको नाममा प्राणी हिंशा, जातीय विभेध, महिला शोषण, कर्मकाण्डजस्ता अभ्यासहरू थिए । त्यसको खुलेर विरोध गर्दथे बुद्ध । यता आम मान्छेले तत्कालीन समयमा अहिंशा, समानता, मध्यमार्ग र तर्कका आधारमा खडा भएको बौद्ध धर्मलाई अनुशरण गर्न थालेका थिए ।
तर, ईश्वरको नाम भजाएर आफ्नो भोजन जुटाउनेहरूलाई यो कुरा मन परेको थिएन । युग परिवर्तन भइरहँदा ईश्वरको नाउँमा स्वर्गको टिकट बेच्ने अभ्यासमात्रै होइन, नर्कको त्रास देखाएर धर्मलाई व्यापारीकरण गर्ने परम्परासमेत देखा प¥यो । १९औँ शताब्दीमा आइपुग्दा नित्सेले तिमीहरूको भगवान् मारिदिएँ अब राष्ट्रको उन्नति कसले गर्छ? भन्ने प्रश्न गर्ने आँट गरे । त्यसपछि कार्ल माक्सले धर्मले मान्छेलाई मताइराख्ने भएकाले यसलाई अफिमको सङ्घ्या दिए । यी सबै तर्कहरूले धर्म मानवतामा आधारित हुनुपर्ने कुराको सङ्केत गर्दछ । यस सन्दर्भमा बहुजन हिताय, बहुजन सुखायको मान्यता राखेको बौद्ध धर्म मानवधर्म हो ।
सिद्धार्थका रूपमा बुद्धले अलारकलम, उद्दकारामापुत्त आदि गुरुहरूबाट वेदोपनिषद्सहित प्राचीन भारतीय दर्शन, युद्धविद्या, घोड़दौड़, रथ सञ्चालन, शस्त्रास्त्रविद्या सिकेका थिए । यस्ता विद्याहरू सिके पनि ती कुनैले बुद्धलाई तृप्त पार्न सकेनन् । बुद्धले वेदको अध्ययनपश्चात् स्वतन्त्र चिन्तन गरे । यदि वेद सत्य हुँदो हो त ब्राह्मणले कसरी विकृत गर्न सक्दथे र ? वेदका व्याख्याताहरूमा पनि फरक फरक मत छन् । बुद्धले विवेक प्रयोग नगरी वेदलाई मात्र प्रमाण मान्नु मूर्खता भने । गङ्गाजल पवित्र छ भनेर प्यूँदा अस्वस्थ पनि हुन सकिन्छ । वेदको आधारमा कसैले ईश्वरलाई साकार त कसैले निराकार मानिरहँदा बुद्धले प्रश्न गरे, भगवान् निराकार हुन्छ भने संसार कसरी बनाए । साकार भए खोइ ईश्वर?
तत्कालीन समयमा बलिपर्थाले निर्धा पशुहरूको हत्या गराइरहेको, कर्मकाण्डका नाममा पुरोहितहरूले ठगिरहेको र नर्कको भय र स्वर्गको प्रलोभनमा मानिस धर्मान्ध भइरहेको साथै वर्णभेद, वर्गभेद बढÞिरहेको थियो ।
यस्तो अवस्थामा पापीलाई दण्ड नमिलेको देखेर बुद्ध प्रश्न गर्दथे । यदि ईश्वर छन् भने पनि दुर्बल छन् । पाप र पापीलाई ट्वाल्ल परेर हेरिरहेका छन् । यसरी पापीलाई दण्ड नदिएर ईश्वरले उनीहरूलाई पोषण गरिरहेका छन् । बुद्धले ईश्वरको विषयमा अल्मलिरहनुभन्दा मानव कल्याणमा लाग्न प्रेरित गरिरहे । उनले ईश्वरको ठाउँमा कर्मलाई समावेश गरे । कर्म प्रधान हुने कुरालाई व्यापक प्रचार गरे । ईश्वर वा परलोकलाई छोडेर बुद्धले यही लोकमा मानिसका निम्ति दुःख निरोधको मार्ग खोजे । बौद्ध धर्मको चार आर्यसत्य महत्वपूर्ण दर्शन हो । संसारमा दुःख छ । दुःखका कारण छन् । दुःखको निवारण छ । निवारणका लागि आर्य अष्टाङ्गिक मार्ग छन् ।
दुःख सत्य छ । जन्मनु दुःख हो । बुढो हुनु र मर्नु दुःख हो । शोक, विलौना शारिरीक पीडा, मानसिक हैरानी, निराशा सबै दुःख हो । प्रिय कुरा छुट्नु मात्र दुःख होइन अप्रिय कुरासँग भेटिनु पनि दुःख हो । साथै चाहेको कुरा प्राप्त नहुनुलाई पनि दुःख मानिन्छ । रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान यी पाँच स्कन्द उपादान पनि दुःख हुन् । त्यसैले यस्ता दुःखहरूलाई बुझ्न सकियो भने हामी एउटा सत्यसँग साक्षातकार हुन्छौँ । आर्यअष्टाङ्गिक मार्गमा आठवटा अङ्ग छन् जसलाई तीन महत्वपूर्ण सोपान शील, समाधि र प्रज्ञा अन्तर्गत समावेश गर्न सकिन्छ । शील सोपानअन्तर्गत (सम्यक वचन, सम्यक कर्म, सम्यक आजीविका), समाधि अन्तर्गत (सम्यक व्यायाम, सम्यक स्मृति, सम्यक समाधी) तथा प्रज्ञा सोपान अन्तर्गत (सम्यक दृष्टि, सम्यक संकल्प) पर्दछन् । अष्टाङ्गिक मार्गले सफलता मात्र दिँदैन, खुशी र शान्ति पनि दिन्छ । यसले जीवनको बुझाइलाई गहि¥याउँछ । यसरी संसारलाई दुःखमुक्तिको मार्ग देखाएर निर्वाण सुख प्राप्ती गर्न पे्ररणा दिए बुद्धले ।
दुःखका कारण छन् र त मानिस दुःखी हुन्छन् ।
कारणबिना कार्य हुँदैन भन्ने बौद्ध मान्यताकै आधारमा दुःखको कारण तृष्णालाई लिइएको छ । दुःख अन्त्य गर्न सकिन्छ र यसको लागि तृष्णाको अन्त्य गर्नुपर्ने तर्क राखिएको छ । आर्यअष्टाङ्गिक मार्गमा आठवटा अङ्ग छन् जसलाई तीन महत्वपूर्ण सोपान शील, समाधि र प्रज्ञा अन्तर्गत समावेश गर्न सकिन्छ । शील सोपानअन्तर्गत (सम्यक वचन, सम्यक कर्म, सम्यक आजीविका), समाधि अन्तर्गत (सम्यक व्यायाम, सम्यक स्मृति, सम्यक समाधी) तथा प्रज्ञा सोपान अन्तर्गत (सम्यक दृष्टि, सम्यक संकल्प) पर्दछन् । अष्टाङ्गिक मार्गले सफलता मात्र दिँदैन, खुशी र शान्ति पनि दिन्छ । यसले जीवनको बुझाइलाई गहि¥याउँछ । बुद्ध आफै दुःखका कारणहरू खोज्दै जाँदा बाह्रवटा कारण फेला पारे र अन्त्यमा मूल कारण अविद्यालाई माने । यसलाई प्रतीत्यसमुत्पाद भनिन्छ । सम्पूर्ण बौद्ध दर्शन यी बाह्रवटा क्रमबद्ध कारणमा नै अडिएको छ । यसलाई द्वादश निदान पनि भनिन्छ जहाँ छःवटा इन्द्रिय र छःवटा विज्ञान छन् ।
सामान्यतया ईश्वर र भगवान्लाई पर्यायावाची शब्दको रूपमा लिइन्छ । तर, पालि भाषामा भगवान र ईश्वरले विल्कुल फरक अर्थ दिन्छन् । ईश्वर सृष्टिकर्ता हो भने तृष्णालाई भङ्ग गर्ने व्यक्ति भगवान हो । तृष्णा भङ्ग गरी दुःख निरोध गर्न आर्यअष्टाङ्गिक मार्ग बताएको हुँदा बुद्धलाई भगवान भन्ने गरिन्छ । भगवान् अथवा भगवतं दुई शब्द मिलेर बनेको छ, भग र वान् । भग भनेको भङ्ग गर्नु वा भत्काउनु हो भने वान् भनेको धारणाकर्ता वा तृष्णा हो । तृष्णालाई भङ्ग गर्ने व्यक्ति भगवान हुन् । अतः बुद्ध ईश्वरका अवतार होइनन् । कसैले शान्तिको सन्देश पठाएका दूत पनि होइनन् । स्वयम् ज्ञान आर्जन गरी मानवमुक्तिका निम्ति मार्गनिर्देश दिने गुरू अर्थात् तृष्णालाई भङ्ग गर्ने व्यक्ति हुन् । त्यसैले बुद्धलाई भगवान भन्न मिल्छ तर, शान्तिका अग्रदूत चाहिँ भन्न मिल्दैन ।