Butwal Today

घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा

८ बैशाख २०८२, सोमबार
अ+
अ-

नेपालगञ्ज, ८ बैशाख ।

रौतहट जिल्ला फुटबल संघको टोली लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रङ्गशालामा आइतबार घरेलु टोली बाँके–११ लाई ३–० गोल अन्तरले पराजित गर्दै रौतहट सेमिफाइनलमा प्रवेश गरेको हो । रौतहटलाई जित दिलाउन जेनिफर रानामगर, समीक्षा राई तथा पियुली रोयले गोल गरे । रौतहटले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा दुई गोल गर्न सफल भयो ।

जेनिफरको गोलमार्फत खेलको २७ औं मिनेटमा रौटहटले अग्रता लिएको थियो । सेनु परियारको पासलाई जेनिफरले उत्कृष्ट हेडर गोल गरेकी थिइन् । दोस्रो हाफको सुरुमै रौतहटले अग्रता दोब्बर बनायो । जेनिफरकै पासमा समीक्षा राईले गोल गरिन् । भारतीय खेलाडी पियुलीले ५१ औं मिनेटमा गोल गर्दा रौतहटको अग्रता ३–० मा पुग्यो ।

खेलमा सिम्रन राई प्लेयर अफ दि म्याच घोषित भइन् । रौतहटले फाइनल प्रवेशको लागि अब वैशाख १० गते विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र कर्णाली प्रदेशबीचको विजेतासँग खेल्नेछ । एपिएफले सोमबार कर्णाली प्रदेश फुटबल संघसँग प्रतिस्पर्धा गर्नेछ ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएको प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने आयोजक अन्तरालले जनाएको छ ।