नेपालगञ्ज, ७ बैशाख ।
अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिता अन्तर्गत शनिबार नेपालगंज रंगशालामा भएको दोस्रो खेलमा नेपाल पुलिस क्लब बिजयी भएको छ । भारतको सिलगुरी एफसीविरुद्ध ४–० को सहज जित निकाल्दै नेपाल पुलिस क्लबले प्रतियोगिताको सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ ।
पुलिसलाई जित दिलाउन निर्मला उपाध्यायले दुई तथा मिना देउवा र कप्तान निरु थापाले गोल गरे । खेलको ‘प्लेयर अफ द म्याच’ निर्मला घोषित भइन् । अब पुलिसले फाइनल प्रवेशको लागि वैशाख ९ गते अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।
आर्मीले उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४–० ले नै पराजित गरेको थियो । पुलिसले पहिलो हाफमै चार गोल गरेको थियो । मिनाले खेलको १३ औं मिनेटमै पहिलो गोल गरिन् । पाँच मिनेटपछि नै निर्मलाले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाइन् । पुलिसले २२ औं मिनेटमा आफ्नो अग्रतालाई ३–० मा पु¥यायो । निरुले पेनाल्टीमार्फत गोल गरिन् । निर्मलाले ३० औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन् । दोस्रो हाफमा भने सिलिगुरीले सुधारेर दवावमुलक खेल खेलेको थियो ।
दुवै टोलीबाट गोल भने हुन सकेन । आइतबार घरेलु टोली बाँके ११ र रौतहट जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुनेछ । बाँके जिल्ला फुटबल संघको सहकार्यमा भइरहेको प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने आयोजक अन्तरालले जनाएको छ ।