© २०२३
सुर्खेत,७ बैशाख ।
विगतका वर्षहरूमा वैशाख सुरु भएसँगै कर्णालीका सामुदायिक विद्यालयहरुमा भर्ना अभियान सुरुवात हुन्थ्यो । शिक्षकहरु भर्ना अभियान सञ्चालन गर्थे । शैक्षिक गतिविधिसँगै विद्यालयमा चहलपहल बढ्दै जान्थ्यो । तर, यो वर्ष भने नयाँ शैक्षिक सत्र सुरु भएसँगै यहाँका विद्यालयहरु सुनसान छन् । वैशाख लागेयता न भर्ना अभियानका कामहरु सञ्चालन भएका छन्, नत अन्य कुनै गतिविधिहरु नै । शैक्षिक चहलपहल हुने समयमा यहाँका विद्यालयहरु सुनसान छन् । शिक्षकहरु आन्दोलन गर्न काठमाडौं गएपछि यहाँका विद्यालयहरुमा कुनै पनि शैक्षिक गतिविधिहरु सञ्चालन भएका छैनन् ।
शिक्षक आन्दोलनका कारण यो वर्ष विद्यार्थी भर्नाका लागि घरदैलो अभियान समेत प्रभावित बन्यो । गाउँ–गाउँमा विद्यार्थी खोज्न जाने शिक्षक नै सडक आन्दोलनमा केन्द्रित हुँदा नयाँ शैक्षिक सत्रका कुनै पनि गतिविधि भएनन् । जसले गर्दा विद्यार्थी र अभिभावकमा अन्योलता सिर्जना भएको छ । शिक्षक महासंघको आन्दोलनलाई सहमति जनाउँदै कर्णालीका अधिकांस शिक्षकहरू काठमाडौं केन्द्रित भइरहेका छन् ।
सुर्खेतस्थित वीरेन्द्रनगरस्थित जन नमुना माध्यमिक विद्यालय (जनमावि) मा विद्यार्थी भर्नाको काम धमाधम चलिरहेको हुन्थ्यो । तर यस वर्ष भने जनमाविले विद्यार्थी भर्ना सुरु नै गरेको छैन । नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको शिक्षक–कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विद्यालयले भर्ना अभियान रोकेका छन् । जसले गर्दा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना सुरु हुन सकेको छैन । शिक्षकहरूको आन्दोलनले भर्ना अभियान प्रभावित बनेको विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले बताए ।
‘शिक्षकहरुको आन्दोलन एउटा निष्कर्षमा नपुग्दासम्म हामीले पनि तत्काल विद्यार्थी भर्नाको अभियान स्थगित गर्नुपर्ने बाध्यात्मक अवस्था छ‘ प्रनाध्यापक श्रेष्ठले भने, ‘जसले गर्दा नयाँ शैक्षिक वर्षमा विद्यार्थी भर्ना कार्यक्रम प्रभावित भएको छ ।’ सरकारले शिक्षकहरूका माग सम्बोधन गरेर निर्वाधरूपमा विद्यालयका गतिविधि सञ्चालन हुने वातावरण बनाउनुपर्ने प्रधानाध्यापक श्रेष्ठको भनाइ छ । सरकारले शिक्षा ऐन जारी गरेर विद्यालयका गतिविधि अघि बढाउने बाटो खोल्नुपर्ने यदि यसो नभए विद्यालयका गतिविधि अनिश्चितकालसम्म रोकिने उनको भनाई छ ।
सरकार र शिक्षक महासंघबीच संवाद भएपनि सहमति हुन सकेको छैन । जसले गर्दा नयाँ शैक्षिक सत्रको भर्ना अभियान सँगसँगै बालबालिकाको पढाइ प्रभावित हुने संकेत देखिएको छ र्। वीरेन्द्रनगरस्थित अमरज्योति नमुना माध्यमिक विद्यालयले समेत भर्ना अभियान रोकेको छ । आन्दोलनका कारण सरकारले तोकेकै मितिमा भर्ना अभियान गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले जनाए ।
। कर्णालीमा कुल तीन हजार कुल तीन हजार दुई सय ३३ विद्यालयमध्ये सामुदायिकतर्फ दुई हजार नौ सय ८१ र नीजितर्फ दुई सय ५० विद्यालयहरु छन् । प्रदेशभर ११ हजार आठ सय ७८ जना शिक्षकहरु सामुदायिक विद्यालयमा कार्यरत छन् ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गत चैत २० देखि काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेका छन् । शिक्षकको आन्दोलनका कारण भर्ना अभियान प्रभावित बनेको सामुदायिक विद्यालयहरूले जनाएका छन् ।