Butwal Today

महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने

७ बैशाख २०८२, आइतबार
अ+
अ-

आगामी महिला एकदिवसीय क्रिकेट विश्वकपका लागि पाकिस्तान टोली भारत नजाने भएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकवीले विश्वकपका खेलहरू तटस्थ मैदानमा खेलिने जानकारी दिएका हुन्।

यस वर्षको अन्त्यमा आयोजना हुने विश्वकपका लागि ‘हाइब्रिड मोडेल’ अपनाइँदैछ, जसअनुसार भारत–पाकिस्तानबीचको राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै दुवै देशले एकअर्काको भूमिमा नखेली तटस्थ स्थलमा प्रतिस्पर्धा गर्नेछन्। नकवीका अनुसार जसरी भारतले अघिल्लो प्रतियोगितामा पाकिस्तान भ्रमण नगरी तटस्थ स्थलमा खेलेको थियो, त्यसैगरी पाकिस्तान पनि  तटस्थ मैदानमै खेल्नेछ।

विश्वकप सेप्टेम्बर २९ देखि अक्टोबर २६ सम्म आयोजना हुनेछ। छनोटका सबै पाँच खेल जित्दै पाकिस्तानले विश्वकपमा स्थान बनाएको हो। प्रतियोगितामा आयोजक भारतसहित अस्ट्रेलिया, दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड, न्युजिल्यान्ड, श्रीलङ्का र पाकिस्तान सहभागी हुनेछन्। आईसीसीले तटस्थ मैदान कहाँ हुने भन्ने चाँडै तय गर्नेछ भने सन् २०२७ सम्म यही मोडेल लागू हुने अपेक्षा गरिएको छ।