© २०२३
लमही, ०७ वैशाख ।
प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिले शनिबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कार्यान्वयन इकाई दाङले गरेका गतिविधिहरूको स्थलगत अध्ययन गरेको छ । परियोजनाको प्रभावकारिता, किसानहरूसँगको समन्वय र प्राप्त उपलब्धिहरूको मूल्यांकनका लागि सांसदसहितको उच्चस्तरीय टोलीले देउखुरी क्षेत्रका विभिन्न सहकारी र कृषक समूहहरूको निरीक्षण गरेको हो । निरीक्षणका क्रममा टोलीले तुलसीपुरस्थित विशाल मौरी फर्म, राजपुरको सुर्योदय कृषक बहुउद्देश्यीय सहकारी संस्थाको कस्टम हायरिङ सेन्टर, लमहीको सतबरीया कृषि सहकारी संस्था लिमिटेडद्वारा उत्पादन गरिएको ‘रामुर हाइब्रिड–१०’ जातको मकै, पालुवा पशुपंक्षीपालन कृषक समूहको रामपुर कम्पोजिट मकै उत्पादन, लमही–७ स्थित हरित तरकारी समूहको उत्पादन लगायतका गतिविधिहरू हेरेको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि अधिकृत महेश रेग्मीका अनुसार अध्ययन टोलीले परियोजनाबाट किसानले पाएका लाभ, सहकारीले प्रयोगमा ल्याएका कृषि उपकरणहरू (मकै छर्ने, फोक्ने, धान रोप्ने, थ्रेसर, ट्र्याक्टर लगायत) को उपयोग र त्यसले उत्पादनमा पु¥याएको योगदानका विषयमा विस्तृत छलफल गरेको थियो ।
राजपुरस्थित सुर्योदय सहकारी संस्थामा आयोजित छलफलमा परियोजनामार्फत प्राप्त उपकरण र संरचनाहरूको प्रयोगबाट उत्पादनमा आएको वृद्धिको किसनले बताए । मकै सुपरजोन कार्यक्रम अन्तर्गत उत्पादन गरिएको मकैको बीउ बजारीकरणमा गोर्खा सिड कम्पनीले महत्वपूर्ण भूमिका खेलेको जानकारी पनि गराएका थिए ।
निरीक्षण टोलीमा प्रतिनिधिसभाका सांसदहरू बीरबहादुर बलायर, भानुभक्त जोशी, रञ्जीत श्रेष्ठ, रूपलाल चौधरी, अनिशा नेपाली, अशोक कुमार चौधरी, बिजुला रायमाझी, मिरा तामाङ, सुर्यकुमारी श्रेष्ठ लगायत कृषि मन्त्रालयका सचिव शिवदत्त बराल, कृषि विभागका उप–महानिर्देशक राजेन्द्र कोइराला, योजना आयोगका अधिकृत माधव पौडेल, परियोजनाका वरिष्ठ कृषि विकास अधिकृत महेश रेग्मी, इन्द्र शर्मा ढंगाना, दाङ इकाई प्रमुख लक्ष्मण बहादुर चौधरी, कृषि अधिकृत विकास पौडेल सहित ३० सदस्यीय टोली सहभागी थियो ।
दाङमा सो परियोजना अन्तरगत देउखुरीमा मकै जोन र तुल्शिपुरमा तोरी जोनका रूपमा सन्चालन हुँदै आएको छ।देउखुरी १० हजार हेक्टर जग्गमा मकै जोन सन्चालन हुँदै १ बर्षमा ३ सिजनमा मकै खेती हुने गरेको लमही परियोजनाका प्रमुख रेग्मिले बताए । केही समयदेखि स्थानीय रूपमै मकैको बीउ समेत उत्पादन हुन थालेको छ । अनुगमनको क्रममा आसद बलायरले दाङमा परियोजना निक्कै प्रभावकारी र उपलब्धि मुलुक देखिएको बताए ।