© 2026
काठमाडौं ।
नेपाल प्रहरीमा जनपद समूहतर्फ १० जना डीआईजी (प्रहरी नायब महानिरीक्षक) पद रिक्त भएपछि बढुवाको प्रतिस्पर्धा तीव्र भएको छ। वैशाख ४ मा ६ जना डीआईजी एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) मा बढुवा सिफारिस भएसँगै अब १० जना एसएसपी (वरिष्ठ उपरीक्षक) लाई डीआईजीमा बढुवा गर्ने प्रक्रिया अघि बढाइएको हो।
गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्बाट एआईजी बढुवा सिफारिस पारित भएलगत्तै डीआईजी बढुवाका लागि सिफारिस गरिने तयारी छ। बढुवाको दौडमा तीन छुट्टाछुट्टै समूहका अधिकारी प्रतिस्पर्धामा छन्।
पहिलो समूहमा २०५४ चैत १८ मा प्रहरी सेवामा प्रवेश गरेका सुदर्शन कोइराला र दीपक रेग्मी छन्, जसका सहकर्मी दान बहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारी भने हालै एआईजीमा सिफारिस भइसकेका छन्।
दोस्रो समूह राष्ट्रिय अनुसन्धान विभाग (राअ) हुँदै प्रहरी सेवामा आएका १० जनाको छ। तीमध्ये ओम बहादुर राना, माधव प्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, शारदा चौधरी, विनोद घिमिरे, जयराज सापकोटा, सञ्जीव शर्मा दास, सुरेन्द्र गुरुङ, दिलीप सिंह देउवा र दीपक बस्नेत छन्। यीमध्ये केही विवादित पृष्ठभूमि र राजनीतिक पहुँचकै भरमा बढुवाको लबिङ गरिरहेका छन् भन्ने चर्चा छ।
तेस्रो समूहमा २०५६ असार ३ मा भर्ना भएका १५ जना अधिकृत छन्। तीमध्ये विश्व अधिकारी, भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अवि काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दीप जबरा, गोपाल भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्ण पल्ली मगर, तारादेवी थापा र प्रज्वल महर्जन प्रतिस्पर्धामा छन्।
यीमध्ये भूपेन्द्र खत्री र सोमेन्द्र राठौर काविल अधिकृतको रूपमा चिनिन्छन् भने विश्व अधिकारी हाल काठमाडौँ प्रहरी प्रमुख छन्। शेखर खनाल भने बल प्रयोगका घटनामा मुछिएका छन्।
बढुवा समितिमा वरिष्ठता, कार्यसम्पादन, सेवा अवधि र ‘क्लिन इमेज’ प्रमुख आधार हुने भए पनि राजनीतिक पहुँच र सिफारिसको भूमिकाले पनि अन्तिम नतिजामा प्रभाव पार्ने अपेक्षा गरिएको छ।