© २०२३
नेपालीहरूमाथि विदेशबाट स्वदेश फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुव्र्यवहार हुने गरेको छ । नेपालीहरूले विदेश गएर पठाएको रेमीटान्सले नै देश चलेको छ तर देशलाई आत्मनिर्भर बनाउन विदेशबाट पैसा पठाउने तिनै नेपाली स्वदेश फर्किदा ठूलो दुव्र्यवहारमा पर्नुपरेको सार्वजनिक भएको छ । यो पहिलोपटक मात्रै भएको होइन । हरेक दिन स्वदेश फर्किने नेपालीमाथि कुनै न कुनै प्रकारको दुव्र्यवहार हुने गरेको छ । स्वदेश फर्किने नेपाली नागरिकलाई तेश्रो दर्जाको नागरिकको सरह व्यवहार गरिने गरेको छ । यो गंभीर सवालमा नेपाल सरकार मूकदर्शक बन्दै आएको छ । नेपालीमाथि हुने दुव्र्यवहारको एक घटना केही दिनअघि सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नेपालीमाथि हुने सास्ती र दुव्र्यवहारको हद चरितार्थ भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै प्रहरीको समूहले विदेशमा श्रम गरी स्वदेश फर्किरहेका एक युवकमाथि दुव्र्यवहार गरिरहेको उक्त भिडियोले सारा नेपालीको शिर निहुराउने काम गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको त्यो दृश्य सायद हामी नेपालीको सामूहिक बेइज्जती र दुव्र्यवहारको एउटा नमूना थियो ।
वर्षौं दुबईमा पसिना बगाएका मोरङका सञ्जय ओझा ३१ चैतमा काठमाडौं विमानस्थलमा ओर्लिएका थिए । विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि उनीमाथि प्रहरीले दुव्र्यवहार गरेको थियो । कति बिडम्वना नेपाल फर्किने नेपालीमाथि स्वागत गर्नुपर्नेमा प्रहरीले उनीमाथि लात र धक्का बर्सायो । त्यो अपमान उनले सहिरहे । जबर्जस्ती तीनजना प्रहरीले उनीमाथि दुव्र्यवहार गरिरहे । त्यो दुव्र्यवहार केवल एक जना युवकमाथि गरिएको थिएन, रेमिट्यान्स पठाउने लाखौं नेपालीको आत्मसम्मान र अस्मितामाथि पु¥याइएको चोट पनि थियो । सरकारले घटनामा संलग्न प्रहरीमाथि कारवाही गरेको छ । प्रहरीलाई केही दिनका लागि निलम्बन गरिएको छ तर उनीहरूको रवैया छरपष्ट भएकोले भोलिको दिनमा अरू नेपालीमाथि पनि यस प्रकारको दुव्र्यवहार नहोला भन्न सकिन्न । तसर्थ यो घटनामा संलग्न प्रहरीमाथि निलम्बनमात्रै होइन सेवाबाटै निष्कासन गरिनुपर्दछ । भोलीको दिनमा यस प्रकारका दुव्र्यवहारका घटना अरू सुरक्षा निकाय र कर्मचारीले नगरुन भन्नका लागि पनि दुव्र्यवहारको यो घटनामा ती प्रहरीलाई सामान्य उन्मुक्ति दिईनु हुँदैन ।
केही महिनाअघि अमेरिकामा पिएचडी सकेर त्यही अमेरिकी सरकारको अनुसन्धान विभागमा सेवारत एक वरिष्ठ बैज्ञानिक सधैका लागि अमेरिकाको बसाई बिट मार्दै स्वदेश फर्किए । अव जे गर्ने देशकै लागि गर्ने भन्दै स्वदेश भित्रिदै गरेका तिनै बैज्ञानिकमाथि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा कर्मचारीहरूले ठूलो सास्ती दिए । करिव दुई घण्टाको अवहेलना, दुव्र्यवहार र तिरस्कारबीच उनी जसोतसो उम्किए ।
उनलाई विमानस्थलका कर्मचारीले दिएको सास्ती सुन्दा नेपाल फर्किएर गल्ती गरिएको महसुस भएको ती बैज्ञानिकको भनाइले वास्तवमा विमानस्थल कार्यालयभित्र नेपालीलाई कति सास्ती दिइन्छ भन्ने पुष्टी गरेको थियो । पछिल्लोपटकको सास्ती त सामाजिक सञ्जालमा छरपष्ट भएको छ । यो घटनाले नेपालीको बेइज्जत गरेको छ । नेपालीमाथि यतिधेरै दुःख दिने त्यहाँका कर्मचारीले नेपाल घुम्न भन्दै नेपाल आउने विदेश पर्यटकलाई कति सास्ती दिँदा हुन ? प्रश्न उत्पन्न भएको छ । जबसम्म नेपालमा यस प्रकारका समस्यामा सुधार हुँदैन, तबसम्म नेपालको अवस्थामा पनि परिवर्तन आउँदैन । हामीले बिर्सनु हुँदैन– नेपालीले पठाएको रेमीटान्सले देशको अर्थतन्त्र चलायमान भएको छ । प्रहरी संगठनको भातभान्सा पनि चलेको छ । सञ्जय ओझा जस्ता हजारौं लाखौं नेपालीले पठाएको पैसाले देशलाई आत्मनिर्भर वनाउन ठूलो सहयोग पुगेको छ । तर तिनै नेपालीमाथि यतिसम्मको दुव्र्यवहार हुँदा नेपाल सरकार चुप छ । प्रहरीलाई कारवाही गरेरमात्रै समस्याको समाधान हुँदैन । त्रिभुवन विमानस्थलमा हुने गरेको बर्षौदेखिको दुव्र्यवहार कठोर तरिकाले रोक्ने बिषयमा सरकारको ध्यान जाओस् । नेपालीमाथि मात्रै होइन विदेशबाट घुम्न आउने पर्यटकमाथि पनि ठूलो दुव्र्यवहार हुने गरेको छ । यस प्रकारका घटनाले नेपालको अन्तर्राष्ट्रिय रूपमै बदनाम हुने गरेको छ । सरकार र प्रहरी नेतृत्वले अब आँखा खोल्नुपर्छ । जति ढिला भयो त्यति घाटा नेपालकै हुनेछ । अब आँखा खोल सरकार ।