Butwal Today

‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’

७ बैशाख २०८२, आइतबार
अ+
अ-

चन्द्रौटा , ०७ बैशाख।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष प्रेम राम्जाले आफ्नो भेषभूषा, कला, संस्कृतिलाई संरक्षण गर्न आवश्यक रहेको बताएका छन् । पत्रकार महासंघ कपिलवस्तु शाखाले नयाँ वर्ष २०८२ को क्यालेन्डर (भित्तेपात्रो) विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । देशलाई उर्भरा बनाउन आदिवासी जनजातिको उल्लेखनीय योगदान रहेको बताउँदै सो समुदायको पहिचान संरक्षण प्रवद्र्धन गर्न फोनिजले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष राम्जाले बताए । आदिवासी जनजातिका पत्रकार न्यून रहेकाले पत्रकारको संख्यामा वृद्धिको साथै सञ्चार माध्यममा टेवा पुग्ने उनले बताए । पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यवद्धता कायम गरी संघीय इकाईबीच परस्परमा सहयोगात्मक सम्बन्ध विकास हुने उनले जनाए । समानुपातिक समावेशी र सहागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने, सूचना तथा सञ्चार प्रणालीका विकास हुने राम्जाले बताए । यसैबीच नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुषालले सञ्चार संस्थालाई संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

अनियमितता, गलत गतिविधि, भ्रष्टाचारको विरुद्धमा कलम चलाउनुको साथै नागरिकका आवाज समाचारको माध्यमबाट बुलन्द गर्दै पत्रकारले सक्रियतापूर्वक लाग्न उनले आग्रहसमेत गरे । सबै पत्रकार संगठनहरूलाई समान दृष्टिकोणले हेरेको बताउँदै पत्रकार महासंघले क्रियाशील पत्रकारलाई महासंघले नयाँ सदस्यताबाट वञ्चित नगर्ने उनको भनाइ छ ।
शनिबार चन्द्रौटामा पत्रकार महासंघले भित्तेपात्रो विमोचन गरिएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष राम अवतार थारुले बताए । महासंघले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरेको अध्यक्ष थारुले जानकारी दिए ।

जिल्लाभित्रका ऐतिहासिक, पुरातात्विक, पर्यटकीय स्थल, धार्मिक मठमन्दिरको प्रचारप्रसार हेतुले भित्तेपात्रो प्रकाशन गरेको छ । जनचेतनामूलक सन्देशसहितको जिल्लाभित्रका पालिकाहरूको सार्वजनिक सूचनासमेत समावेश गरिएको छ । भित्तेपात्रोले सर्वसाधारणहरूमा सचेतनाको साथै विभिन्न विभिन्न पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास लिएको छ । भित्तेपात्रो विमोचन कार्यक्रमलाई पत्रकार महासंघ कपिलवस्तुका सचिव शनिउल्ला धोबी, प्रेस चौतारी नेपाल कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझी, फोेनिजका पूर्व केन्द्रीय सदस्य कमल सिंह चौधरी, प्रेस सेन्टर कपिलवस्तु उपाध्यक्ष माधव बेल्बासे, रेडियो भ्वाइसका स्टेशन म्यानेजर गीता पौडेल, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, फोनिजका सिर्जना थारु, उत्तम चौधरी लगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?