काठमाडौं, ७ वैशाख ।
लगातार तीन दिन बढेको सेयर बजार आइतबार ओरालो लाग्दै १६.६८ अंकले घटेर २७०६ विन्दुमा झरेको छ। बजार खुलेदेखि नै घट्ने क्रम जारी रहँदा लगानीकर्तामा अन्योलता देखियो।

बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण कमजोर देखिएपछि बजारमा नकारात्मक असर परेको हो। नाफा सामान्य रूपमा १.४ प्रतिशतले मात्र बढेको छ, त्यो पनि राष्ट्र बैंकको सहुलियतबाट लोन लस प्रोभिजन घटेका कारण। साँवा र ब्याज असुली कमजोर रहँदा निष्क्रिय कर्जा बढेको देखिएको छ।
बैंक तथा वित्तीय संस्था बजारका मुख्य क्षेत्र भएका कारण यसको असर अन्य सेक्टरमा पनि परेको छ। कारोबार रकम समेत घटेर ८ अर्ब ४३ करोडमा सीमित भयो।
आज ५३ कम्पनीको मूल्य बढ्दा १९२ को घट्यो। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढ्यो। राधि विद्युत, बोटलर्स नेपाल, कर्पोरेट डेभलपमेन्ट बैंकजस्ता कम्पनी उकालो लागे भने हिमालयन पावर पार्टनर, बलेफी हाइड्रो र सप्तकोशी विकास बैंकको मूल्यमा गिरावट आयो।
बजारमा अस्थिरता कायम रहेको छ र लगानीकर्ताको नजर आगामी वित्तीय विवरण र राजनीतिक अवस्थामाथि केन्द्रित रहेको देखिन्छ।



