नेपालगञ्ज, ६ बैशाख ।
अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।
शुक्रबार नेपालगञ्ज रंगशालामा भएको उद्घाटन खेलमा आर्मीले सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४–० ले हरायो । यो जित संगै त्रिभुवन आर्मीले सेमीफाइनलका लागि आफ्नो स्थान सुरक्षित गरेको छ भने सुदुरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ ।
त्रिभुवन आर्मीका तर्फबाट अनिता लम्जेलले खेल सुरु भएको ५ मिनेटमा पहिलो गोल गर्न सफल भइन् । पहिलो हाफमा अनिताले गरेको गोल त्रिभुवन आर्मीका लागि निकै फलदायी वन्न पुग्यो । यस्तै खेलको ५३ औ मिनेटको दोस्रो हाफमा पनि अनिताले नै एक गोल गरिन् । यसैगरी खेलको ५६ औ मिनेटमा हिमा चौधरीले एक गोल गरिन् भने तुलसा बोहोराले खेलको ७८ औ मिनेटमा गरेको गोलले भित्रुवन आर्मीलाई ४ गोल दिलाउन सफल भयो ।
खेलको म्यान अफ दि म्याच दुई पटक गोल गर्ने अनिता लम्जेल बन्न सफल भएकी छिन् । खेलमा सुदुरपश्चिम टिमबाट खेलाडी सीता रोकाय र सिर्जना बरालले पहेलो कार्ड पाएका थिए । अब, आर्मीले फाइनल प्रवेशका लागि अर्को विभागीय टोली नेपाल पुलिस क्लब र भारतको सिलगुडी फुटबल संघको विजेतासँग बैशाख ९ गते खेल्नेछ । पुलिस र सिलगुडीबीच शनिबार प्रतिस्पर्धा हुनेछ । खेलको उदघाट्न संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका थिए ।
उदघाट्न गर्दे मन्त्री चौधरीले लुम्बिनी महिला फुटबल प्रतियोगिताले खेलाडीमा उत्साह थप्नुका साथै राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । उनले भने ,“पश्चिम क्षेत्रमा निकै क्षमतावान खेलाडी रहेका छन् । हामीले अवसर दिन सक्ने हो भने देश तथा विदेशमा बेग्लै पहिचान बनाउन सक्ने अवस्था छ । यो अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले राम्रो सन्देश दिएको छ ।” उद्घाटनमा स्वागत गर्दै आयोजक अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले प्रतियोगितामा पाएको साथ र समर्थनले खेलाडीहरुमा थप उर्जा थप्नेमा विश्वस्त रहेको बताए । अन्तरालको आयोजना तथा जिल्ला फुटबल संघ बाँकेको सहकार्यमा वैशाख १२ गतेसम्म चल्ने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।