© २०२३
बुटवल, ६ वैशाख ।
पौरस्त्य समाज नेपालको पुनः गठन तथा शुभकामना आदानप्रदान कार्यक्रम शनिवार बिहान मणिग्रामको विश्राम बाटिकामा सम्पन्न भएको छ ।
प्रा. डा. बावुराम ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा मन्तव्य राख्दै प्रा. डा. गणेश पाठकले पछिल्लो समयमा पूर्वीय ज्ञानका क्षेत्रमा प्राज्ञिक अनुसन्धानका गतिविधिले न्यूनता प्राप्त गरेकाले यसलाई क्रमिक रुपमा सुधार गर्दै संस्थाका गतिविधिलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मणिग्रामका वरिष्ठ समाजसेवी तथा शैक्षिक अभियान्ता गिरिशमणि आधीले नेपाल पौरस्त्य समाजले गर्ने हरेक सामाजिक, आर्थिक, साँस्कृतिक अध्ययन अनुसन्धानका कार्यक्रमले नेपाली समाजमा बढिरहेका गैरमानवीय गतिविधि तथा कुसंस्कारहरुलाई निराकरण गर्नेमा केन्द्रीकृत हुने विश्वास व्यक्त गरे । कार्यक्रममा समाजशास्त्री मोहनराज शर्माले हामीले पूर्वीय सभ्यता र संस्कारभित्र रहेका सकारात्मक र व्यावहारिक अवधारणालाई किशोरकिशोरीहरुले समेत अभ्यासमा लैजाने गरी अध्ययन अनुसन्धान गर्नुपर्ने समय आएको भन्दै सबैलाई यसमा लाग्न अनुरोध गरे ।
कार्यक्रमले आगामी कार्यकालका लागि प्रा. डा. बावुराम ज्ञवालीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । जसको सचिवमा अमर डिसि कोषाध्यक्षमा हुमराज भुसाल, सहसचिवमा मुक्तिनाथ गैरे, सदस्यहरुमा प्रा. डा. अनन्त पन्थी, चक्रपाणि डुम्रे, राजु भुसाल , कविता पन्थी रहेका छन् । त्यसैगरी तीन सदस्यीय सल्लाहकार समिति पनि निर्माण गरिएको छ । जसमा प्रा. डा. गणेश पाठक, गिरिसमणि आधी र मोहनराज शर्मा रहेका छन् । उक्त अवसरमा नववर्ष २०८२ को शुभ अवसरमा उपस्थिति सम्पूर्णले एक आपसमा शुभकामना आदानप्रदान गर्दै आफुले आर्जन गरेको ज्ञान र धनबाट आफुले मात्रै समृद्धि प्राप्त नगरी समाजमा पनि केही योगदान गर्नु पर्ने बताएका थिए ।