© २०२३
बुटवल,०६ वैशाख ।
योगीकुटी चोकदेखि २ सय मिटरको दुरीमा छ, मणिमुकुन्द भलिवल क्लबको आफ्नै कोर्ट । जहाँ खेलाडीहरू नियमित अभ्यास गर्छन । बिहान साँझ अभ्यास हुने थलो अहिले भने प्रतियोगिताको तयारीमा सजिएको छ । शनिबारदेखि हुने १० औं मणिमुकुन्द कप पुरुष भलिबल इन्डो–नेपाल क्लव च्याम्पियनसीप–२०८२ को । नजिकैको क्लबको कार्यालय कोठा, भान्सा छ । युवाहरू आफै मैदानमा दिनभर खट्छन, खाना पकाउँछन, खान्छन, रातीमा आराम गर्छन । भलिबल खेल वास्तवमा इन्डोर खेल हो । पूर्वाधार नहुँदा खुला कोर्टमा खेलाउने गरिएको छ ।
नवौ संस्करण सम्पन्न गरेको अनुभवलाई थप परिस्कृत गरि रातीको प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए । यसअघि २०७६ सालमा रात्रीकालिन जिल्ला स्तरीय प्रतियोगिता गरेको उनले स्मरण गरे । प्रतियोगिता आयोजनामा केही चुनौतीहरू आएको उनले स्वीकारे । सुरक्षा, प्रकाश व्यवस्था र व्यवस्थापनका विषयमा धेरै मेहनत गरेको उनले दाबी गरे । तराई क्षेत्रमा दिउँसो मौसम बाधक हुने हुँदा पनि बिकल्पको रूपमा राती प्रतियोगिता गर्न लागेको उनले बताए । बैशाख ६ देखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धेरै सहयोगी हातहरूको साथ रहेको उनले बताए । शुरुवातमा उज्यालोको लागि बत्ति जडानमा केही समस्या आएको उनले बताए । प्रतियोगिता साँझ ६ बजेदेखि राति १० बजेसम्म चल्नेछ । टिकट, पार्किङ, नास्ता लगायतको जिम्मेवारी अनुसार काम भएको उनले बताए । ‘दर्शकको भिडलाई ब्यवस्थापन गर्ने, पार्किङलाई ब्यवस्थित गर्न युवाहरू खटिने छन ।’–उनले भने । खेल पर्यटनमा नयाँ आयाम दिने गरि कार्यक्रम गर्न लागेको उनले बताए । ‘तयारी पुरा भएको छ ।’–उनले भने । ३ हजार दर्शक क्षमताको प्याराफिट तयार भएको छ ।
लोकेन्द्र भण्डारी
अध्यक्ष, मणिमुकुन्द भलिवल क्लब
लुम्बिनी प्रदेश भलिवल संघका अध्यक्ष योगबहादुर गुरुङले रात्रीकालीन भलिबल प्रतियोगिताबाट यस क्षेत्रमा खेलकुदप्रतिको आकर्षण र प्रेरणा जागाउने बताए । ‘सांस्कृतिक माहोल र रात्रिकालीन जीवनशैलीको प्रवद्र्धनमा थप टेवा मिल्ने छ ।’– उनले भने । दिनभर आफ्नो काममा ब्यस्त रहने खेलप्रेमीहरूलाई प्रतियोगिता हेर्न सहजता हुने उनले बताए । सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपनि यसको विकासमा भने न्यून लगानी भएको उनले दुखेसो गरे ।
नीजि क्षेत्रबाट खेल क्षेत्रलाई धान्ने काम भएको उनले स्वीकारे । खेलबाट स्थानीय समुदायबीच आपसी मेलमिलाप, सहकार्य र एकताको भावना विकास हुने उनको दाबी छ । पुरुष भलिबल खेलाडी उत्पादन र प्रतियोगिता आयोजना कै कारण क्लब चिनिदै आएको क्लवका बरिष्ठ सल्लाहकार तथा नेपाल भलिवल संघका पूर्व केन्द्रीय सदस्य टुकबहादुर क्षेत्रीको दाबी छ । ‘यो गरिमा बचाउने दायित्व सबैको हो ।’– उनले भने ।
टुक बहादुर क्षेत्री
पूर्व केन्द्रीय सदस्य, नेपाल भलिवल संघ
निरन्तर खेल गतिविधि हुने रूपन्देहीमा रात्रीकालिन प्रतियोगिता नया भएको उनले बताए । यसअघि आयोजना गरिएका प्रतियोगिताहरू अनुभवका रूपमा रहदै आएको उनले बताए ।प्रतियोगितामा उपाधि विजेता टिमले नगद ३ लाख ११ हजार १११ रुपियाका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने क्लबका संस्थापक अध्यक्ष मिलन रानाले बताए । ‘यो वर्ष पुरस्कार राशी १ लाख रूपैया बढाएका छौ ।’–उनले भने । उपविजेता टिमले नगद २ लाख ११ हजार १११, ट्रफी,मेडल र प्रमाणपत्र तथा तृतीय टिमले नगद १ लाख ११ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र, सान्त्वना हुने टिमले नगद ६६ हजार ६६६ रुपिया, ट्रफी, मेडल तथा प्रमाणपत्र बाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा सर्वोत्कृष्ट प्लेयर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट सर्भर, उत्कृष्ट कोच र अनुशासित खेलाडीलाई पनि नगद र कपबाट पुरस्कृत गरिने उनले बताए ।
योग गुरुङ्ग
अध्यक्ष, लुम्बिनी प्रदेश भलिबल संघ
भारतको एक र नेपालका ८ टिम सहभागी हुने क्लवका सल्लाहकार सुरेन्द्र गुरुङ्गले बताए । प्रतियोगितामा साग भलिवल एकेडेमी गुजरात भारत, त्रिभुवन आर्मी क्लव काठमाडौं, नेपाल पुलिस क्लव काठमाडौं, नेपाल एपिएफ क्लव काठमाडौं, गण्डकी प्रदेश भलिवल संघ, कोशी प्रदेश भलिवल संघ, गलकोट भलिवल क्लव बाग्लुङ, मणिमुकुन्द भलिवल क्लव तिलोत्तमा र सुदूरपश्चिम खेलकूद परिषद रहेका छन । खेल सम्पन्न गर्नका लागि ६८ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । ९ औं संस्करण राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाल आर्मी क्लब विजेता रहेको थियो ।
