© २०२३
काठमाडौँ ।
चैत १५ गते तीनकुनेमा राजावादी समूहद्वारा आयोजित प्रदर्शनको क्रममा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणा रिहा हुने भएका छन्। स्रोतका अनुसार, उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उनलाई हाजिर जमानीमा छाड्ने प्रक्रिया अघि बढाइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालयले राणालाई नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि भारत जानुपर्ने कारण देखाउँदै रिहाको तयारी गरेको हो।
क्यान्सरका दीर्घकालीन बिरामी राणा प्रहरी हिरासतमा रहेका बेला आवश्यक स्वास्थ्य सेवा नपाएको भन्दै विभिन्न पक्षले आपत्ति जनाउँदै आएका थिए। राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले समेत हालै एक विज्ञप्ति जारी गर्दै उपचारबाट बञ्चित गरिनु अमानवीय भएको टिप्पणी गरेको थियो। प्रहरीका अनुसार, राणाको प्रारम्भिक बयान सकिएको छ र अब मुद्दाको प्रकृया अनुसार थप कारवाही अघि बढाइने भए पनि उनलाई हाललाई हाजिर रहने सर्तमा रिहा गर्न लागिएको हो।