© २०२३
‘विपद र द्वन्द्वबाट प्रभावित सांस्कृतिक सम्पदाको संरक्षण गरौं’ भन्ने नाराका साथ विश्व सम्पदा दिवस आज मनाईदैछ । सम्पदा दिवसको नाराले भनेजस्तै नेपालका ऐतिहासिक र प्राचीन स्मारक र सम्पदाहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । ती मध्ये अधिकांश खुल्ला संग्रहालयमा परिणत हुँदै गएका छन् । त्यसमाथि विपद र द्वन्द्वले समेत सम्पदामाथि हानी पुगेको छ । संरक्षणमा खासै चासो नहुँदा सम्पदा गुमनाम बन्ने खतरा कायमै छ । कुनैपनि एतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्य तथा महत्व झल्काउने स्थल या संरचनाहरू सम्पदाको सूची भित्र पर्दछन् । ती सम्पदाहरू अहिले संरक्षणको अभावमा यत्रयत्र छरिएर रहेका छन् । कतिपय खुल्ला संग्रहालयमा परिणत भएका छन् । ती ऐतिहासिक सम्पदाको संरक्षणमा सरकारको ध्यान जान सकेको छैन । संरक्षण गर्नुपर्ने सम्पदा समेत वेवास्ता गर्नु विडम्वनाको कुरा हो । अतः सम्पदा दिवसको अवसरमा हाम्रा ऐतिहासिक सम्पदा संरक्षणमा सवैले चासो जरुरी छ । यो अभियानमा केवल सरकारको मुख ताकेरमात्रै होइन, जहाँ जहाँ ऐतिहासिक सम्पदा छन, ती स्थानका सम्पदाको संरक्षणमा स्थानीय नागरिकको समेत भूमिका महत्वपूर्ण हुन्छ । तसर्थ सम्पदा संरक्षणमा चासो मात्रै होइन ध्यान दिनुपनि जरुरी छ । नेपाल त्यसैपनि ऐतिहासिक, धार्मिक र सांस्कृतिक बहुमूल्य सम्पदाले धनी छ । त्यसमाथि विश्वमै गणना गर्न लायक केही महत्वपूर्ण सम्पदा छन, तीनको सुरक्षामा चासो दिनु जरुरी छ ।
नेपालमा ऐतिहासिक सम्पदाको रूपमा रहेका भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्वकै सवैभन्दा अग्लो सर्वोच्च शिखर सगरमाथा, चितवन, बाँके र बर्दियामा रहेका राष्ट्रिय निकुञ्ज, चाँगुनारायण मन्दिर, बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथको मन्दिर, भक्तपुर दरवार क्षेत्र, पाटन दरवार क्षेत्र र काठमाडौँ दरवार क्षेत्र, राजा जनकको राजधानी जनकपुर लगायतका सम्पदाले नेपाललाई सम्पदाको देशको रूपमा चिनाएका छन् । त्यसका साथै दर्जनौं मठ मन्दिर, गुम्बा लगायत हरेक जिल्लामा रहेका ऐतिहासिक महत्वपूर्ण सम्पदा छन् । यसरी भन्दा नेपाल सम्पदाहरूको धनी देश हो । नेपालका अधिंकाश सम्पदा युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भएका छन् । विश्वभरि भएका महत्वपूर्ण सम्पदाहरूको बारेमा नयाँ पुस्तालाई जानकारी दिन, ती सम्पदाहरूको संरक्षण र सम्वद्र्धन गर्न भन्दै संयुक्त राष्ट्रसंघले हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा विश्वभरि विश्व सम्पदा दिवस मनाउँदै आएको छ । जस अनुसार नेपालमा पनि आज यो दिवस मनाईदैछ । यो दिवस मनाउँदै गर्दा सम्पदा संरक्षणमा चुनौति पनि छन् । ती चुनौति सामना गर्दै अघि बढ्नु आजको आवश्यकता हो । विडम्वना पछिल्लोसमय ऐतिहासिक मठमन्दिर, गुठी, सार्वजनिक जग्गा जमिनहरू दिनानुदिन अतिक्रमण हुँदै गइरहेका छन् । नेपालका महत्वपूर्ण सम्पदा चोरी भएर विदेश पुगेको सुन्दै आएका छौं । केही साता अघि चोरी भएर विदेश पुगेका केही मुर्ति नेपाल सरकारले फिर्ता ल्याउन सफल भएको छ ।
त्यसैगरी जीर्ण अवस्थामा रहेका हाम्रा कयौं सम्पदाहरूको संरक्षणमा राज्यको ध्यान नजानु चिन्ताको कुरा हो । अर्को कुरा आजको दिवसको नाराले पनि धेरै कुरा सम्बोधन गर्ने प्रयास गरेको छ । विगतमा भएको द्वन्द्वको बेला हाम्रा गौरवका सम्पदा भत्काइएको, मासिएको र क्षतिविक्षत पारिएको घटना विर्सन सकिदैन् । ती सम्पदा आज खुल्ला संग्रहालयमा परिणत भएका छन । त्यसको संरक्षणमा सम्वन्धित निकायको चासो जानु जरुरी छ । हाम्रो सम्पदा हाम्रो गौरव हो तर त्यही सम्पदाप्रति राज्यको किन ध्यान जाँदैन ? सोचनीय विषय छ । यसमा केवल सरकारलाई मात्रै दोष दिएर पुग्दैन । सम्पदा संरक्षणमा स्थानीय सरोकारवाला निकाय, प्रदेश सरकार र पालिकाहरूको ध्यान जानु जरुरी छ । जहाँ र जुन क्षेत्रमा महत्वपूर्ण सम्पदा छन, ती सम्पदा संरक्षणमा स्थानीयको चासो पुग्नु पनि अपरिहार्य छ । तसर्थ सम्पदा दिवस मनाउँदै गर्दा हाम्रो वरिपरि रहेका महत्वपूर्ण सम्पदाको संरक्षण गरौं ।