© २०२३
सुर्खेत,५ चैत ।
सुर्खेत जिल्ला अदालतले प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएकी भनेकी २२ वर्षिया भिमा गुरुङको परिवारलाई १५ लाख रुपियाँ क्षतिपुर्ति दिन आदेश दिएको छ ।२०८० चैत २९ गते कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी गुरुङकोे उपचारमा अस्पतालले लापरबाही गरेको ठहर गर्दै पीडित परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको हो ।घटना भएको एक वर्षपछि २०८२ वैशाख ३ गते सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासबाट मृतकका श्रीमान् र छोरीले प्रतिवादीहरूबाट १५ लाख रुपैयाँ क्षतिपूर्ति भराई पाउने अन्तिम फैसला आएको अदालतका सूचना अधिकारी उज्जलदेव रावलले जानकारी दिए ।
भिमाका ससुरा धनबहादुर मगरले उपचारका क्रममा भएको लापरबाहीबाट नै मृत्यु भएको र क्षतिपूर्ति भराई पाउँ भन्दै ०८१ वैशाख १७ गते प्रदेश अस्पताल, अस्पतालका तत्कालीन निर्देश डम्बर खड्का र उपचारमा संलग्न डाक्टर ललितजंग शाहीविरुद्ध अन्तरकालीन आदेशको माग गर्दै मुद्दा दायर गराएका थिए । फैसलापछि भिमाका श्रीमान् नवराज बलामीले चिकित्सकको लापरबाहीले भएको घटनालाई अदालतले न्याय दिएको प्रतिक्रिया दिए । पीडित पक्षबाट अधिवक्ता शेरबहादुर खत्रीले वहस गरेका थिए ।
पश्चिम दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा सामान्य पेट दुखेको भन्दै उपचारका लागि प्रदेश अस्पताल पुगेकी थिइन् । वीरेन्द्रनगरको एक निजी अस्पतालमा सामान्य चेकजाँच गराउँदा पाठेघरमा केही समस्या भएको देखियो । त्यस पश्चात् उनी ८० चैत्र २९ गते बिहानै अस्पताल भर्ना भएकी थिइन् । हिँडेर आफैँ अस्पताल पुगेकी थिइन्, भीमा । अस्पतालमा चेकजाँच गराउँदा ४ महिनाअघि प्रसूति गराउँदाका बखत पाठेघरमा केही सालनाल रहेको कुरा चिकित्सकहरूले जानकारी दिए । भीमाको पेटमा केही महिनाको बच्च समेत थियो । पाठेघरलाई सफा गर्नुपर्ने भयो । अप्रेसन गरेर सफा गर्दै गर्दा केही समयपछि नै अस्पतालले उनलाई मृत घोषणा गरिदियो ।