© २०२३
बुटवल, ५ बैशाख । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले मालबस्तु ढुवानी तथा लोड–अनलोड कार्यलाई सहज बनाउन आग्रह गर्दै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवललाई ज्ञापनपत्र बुझाएको छ । संघको प्रतिनिधिमण्डलले कार्यालय प्रमुख एसपी श्यामबहादुर खत्रीलाई भेटेर हाल मुख्य सडक निर्माणको कारण देखिएको असहज परिस्थितिमा व्यवहारिक ट्राफिक व्यवस्थापनको माग गरेको हो ।
संघका महासचिव मुक्तिप्रसाद अधिकारीले सडक निर्माण र अव्यवस्थित पार्किङका कारण सामान ढुवानी तथा वितरणमा समस्या उत्पन्न भएको जानकारी दिए । ट्रयाक्टर र छोटा हात्ती जस्ता सवारीमार्फत हुने लोड–अनलोडमा ट्राफिक प्रहरीबाट अनावश्यक अवरोध र जरिवाना गरिएको भन्दै त्यो रोक्न आग्रह गरिएको छ । ज्ञापनपत्रमा ट्राफिकचोकदेखि माथिको क्षेत्रमा सर्भिस लेन समेत नभएको अवस्थामा नियमअनुसार लोड–अनलोड गर्दा पनि जरिवाना गरिएको, पार्किङमा राखिएका गाडीहरूमा ह्वील लक लगाइएको लगायतका गुनासा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र ग्रहण गर्दै एसपी खत्रीले सडक निर्माण सम्पन्न नहुँदासम्म व्यवहारिक दृष्टिकोणले ट्राफिक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । ट्राफिक नियमको पालना गर्दै व्यापारमा सहजता ल्याउन ट्राफिक कार्यालयबाट सक्दो सहयोग गरिने आश्वासन उनले दिए ।