© २०२३
गुल्मी, ४ वैशाख ।
गुल्मीमा एक निर्माण व्यावसायीले चार महिनामै पक्की पुन निर्माणको काम सम्पन्न गरेका छन । गुल्मीको रेसुङ्गा नगरपालिका निवासी निर्माण व्यावसायी बिजय खनालले गुल्मीको मदाने गाउँपालिका अन्तरगत अग्लु फेँदी खोला पुल चार महिनामै निर्माण सम्पन्न गरेका हुन ।
जिल्लामा सञ्चालित कैयौं विकास योजनाहरू केही निर्माण व्यावसायीले समयमा काम नगर्दा अलपत्र परिहेको अबस्थामा खनालले डेढ वर्षको अबधिमा निर्माण सम्पन्न गर्नुपर्ने काम चार महिनामै सम्पन्न गरेका हुन । गुल्मीको अग्लुङ्हुँदै प्युठान जोड्ने सडकमा पक्की पुल निर्माण गरिएको हो ।
छोटो अवधिमै पुल निर्माणको काम नगरेर खनालले काम गर्ने इच्छाशक्ति भएमा तोकिएको समयनै पर्खनुपर्छ भन्ने मान्यतालाई चिर्दै नयाँ उदाहरण प्रस्तुत गरेका छन । उक्त पुल निर्माणको लागि गत बर्ष जेठ महिनामा सम्झौता भए पनि बर्षात सुरु भएसँगै दशंैतिहार जस्ता चाडपर्वहरू आएका कारण मंसिर महिनादेखि मात्र पुल निर्माणको काम शुरु गरिएको हो । मंसिरदेखि फागुनसम्म चार महिनामा लगातार काम गरेर पुल निर्माणको काम समय अघिनै सम्पन्न गरिएको निर्माण व्यावसायी बिजय खनालले बताए ।
तर समयमै काम सम्पन्न गरेपनि आफुले ६० लाख रूपैंया अझै भुक्तानी पाउन बाँकी रहेको खनालले गुनासो गरेका छन । खनालले आफुले निर्माणको जिम्मा लिएका ९९ प्रतिशत योजनामा म्याद थप नगरि सम्पन्न गरेको बताए । यति छोटो समयमा पुल निर्माण भएसँगै त्यस क्षेत्रका नागरिकहरू पनि दंग परेको मदाने गाउँपालिका –१ का वडाध्यक्ष सुशिल चन्दले बताए । निर्माण व्यावसायीमा इच्छाशक्ति भएमा समय अघिनै काम सम्पन्न हुँदो रहेछ भन्ने नयाँ उदाहरण खनालले प्रस्तुत गरेको उनको बताए ।
सडक पुर्वाधार कार्यालय गुल्मी मार्फत पुल निर्माणको लागि कमल–अर्जुन–सि.टी जे.भीले गत बर्षको जेठ ८ गते सम्झौता गरेको थियो । उक्त पुल भ्याटसहित चार करोड १४ लाख २९ हजार ९७९ रुपियाँको लागतमा सम्झौता भएको सडक पुर्वाधार कार्यालय गुल्मीका प्रमुख इन्जिनीयर सचितानन्द चौधरीले जानकारी दिए । गत मङ्सिर पहिलो साता लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री भुमिश्वर ढकाल र कृषि भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री दिनेश पन्थीले पुल निर्माणको लागि शिलान्यास गरेका थिए ।