© २०२३
काठमाण्डौ ।
आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपालले लगातार तेस्रो जीत हात पारेको छ । तल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हराउदै जित हात पारेको हो ।
हङकङले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १ विकेट गुमाएर १२ ओभर ३ बलमै भेट्टाएको हो । नेपालका शाहिल पटेलले ४२, कप्तान नरेन भट्टले ३९ र निरजकुमार यादवले २३ रन बनाए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६ ओभर २ बलमा १ सय १५ रन बनाउँदा सबै विकेट गुमाएको थियो । हङकङका कप्तान शिव माथुरले सबैभन्दा धेरै ६३ रन बनाए । नेपालका युवराज खत्रीले ४, विपिनप्रसाद शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए ।
छनोटअन्तर्गत पहिलो खेलमा नेपालले यूएई र दोस्रो खेलमा ओमानलाई हराएको थियो । अब लिग चरणको चौथो तथा अन्तिम खेलमा नेपालले आउँदो शनिवार अफगानिस्तानसँग खेल्नेछ ।
पाँच वटा टोली सहभागी प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली आउँदो वर्ष हुने १९ वर्षमुनिको विश्वकपमा छनोट हुनेछ ।